चीनको सैन्य विस्तार ‘आश्चर्यजनक’ : नाटो प्रमुख


टोकियो, २६ चैत । मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुखले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् ।

नाटो प्रमुखको भ्रमण एसिया–प्रशान्त क्षेत्रमा गठबन्धनको शक्ति ‘प्रक्षेपण’ गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

“हामीले चीनप्रति सरलताका साथ काम लिनु हुँदैन”, महासचिव मार्क रुटले सोमबार प्रकाशित जापान टाइम्सलाई भने, “उनीहरूको सशस्त्र सेनाको विस्तार र रक्षा उद्योग तथा रक्षा क्षमताहरूमा गरेको लगानी आश्चर्यजनक छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख्यतः युरोपेली नाटो गठबन्धनका अन्य सदस्यहरूलाई उनीहरूको सैन्य खर्च बढाउन दबाब दिइरहेका छन् ।

साथै उनले एसिया–प्रशान्त सहयोगीहरूलाई चीनको सामना गर्न र उत्तर कोरियालाई नियन्त्रण गर्न सहयोग पुर्‍याउन उनीहरूको सैन्य शक्ति बढाउन चाहेका छन् ।

“अमेरिकाले धारा ५ मा नभई शक्ति प्रक्षेपण गर्ने र नाटोभित्र एकअर्कालाई समर्थन गर्ने अर्थमा नाटोलाई (क्षेत्रमा) बढी संलग्न भएको हेर्न चाहन्छ”, रुटले भने ।

नाटोको धारा ५ ले यदि एक सदस्य राष्ट्रमाथि आक्रमण गरिएमा अन्य सबैले यसलाई सबैमाथि आक्रमण मानेर सोही अनुसार कारबाही गर्नेछन् भन्ने व्यवस्था गर्दछ ।

रुटले मङ्गलबार योकोसुका नौसेना आधारको भ्रमण गर्ने र बुधबार प्रधानमन्त्री सिगेरु इसिबासहित वरिष्ठ जापानी अधिकारीहरूलाई भेट्ने कार्यक्रम थियो ।

नाटोले पछिल्ला वर्षहरूमा तथाकथित आइपी४ भनेर जानिने जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डसँगको सम्बन्ध बढाउन कदम चालेको छ । यी मुलुकका नेताहरू नाटो शिखर सम्मेलनहरूमा उपस्थित हुँदै आएका छन् ।

रुटले गत हप्ता जापान टाइम्सलाई नाटोले सूचना साझेदारी र रक्षा–औद्योगिक सहयोग बढाएर यो साझेदारीलाई अर्को स्तरमा लैजान चाहेको बताएका थिए ।

“हामीले संयुक्त घोषणाहरूभन्दा अगाडि बढ्नुपर्दछ… यसलाई व्यावहारिक बनाऔँ”, गत अक्टोबरमा नाटो प्रमुख बनेका डच नागरिक रुटले भने।

जापानले युरोपका देशहरूसँग सैन्य सहयोग बढाएको छ र गत नोभेम्बरमा टोकियो र युरोपेली सङ्घ (इयु) ले नयाँ सुरक्षा र रक्षा साझेदारीको घोषणा गरेका थिए । रासस