काठमाडौं, २६ चैत्र । कल्किजम रिसर्च सेन्टरले दुईदेखि तीन महिनाभित्रै काठमाडौंमा वायु प्रदुषण नियन्त्रणमा लिन सकिने कार्ययोजना सार्वजनिक गरेको छ । रिसर्च सेन्टरका संस्थापक जय साहले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै वायु प्रदुषण घटाउन सकिने उपायहरु साझा गर्दै यस्तो दाबी गरेका हुन् ।
नदी किनारामा प्लास्टिकको सुरूङ बनाउने तरिका साझा गर्दै उनले बाग्मतीजस्ता नदी किनारमा प्लास्टिङ सुरुङ राख्न सुझाव दिएका छन् । उनले काठमाडौंमा वायु प्रदुषण कम गर्नको लागि ठूला राजनीति सभा तथा सम्मेलन पूर्ण रुपमा रोक्नुपर्ने प्रस्ताव राखेका छन् ।
उनले वायु प्रदुषण कम गर्नको लागि चोक, गल्ली तथा सडकमा ठूला कालो कपडाहरु टाँस्ने अभियान पनि सुरु गर्नुपर्ने धारणा राखे । उनले त्यस अभियानलाई ‘कालो कपडा क्रान्ति’ वा ‘स्वच्छ हावाको पर्दा’ नाम दिएका छन् । उनकाअनुसार कालो रङले धुलो, धुवाँ सजिलै सोस्नेछ । उनले भने,‘कालो कपडाले धुलो, पिएम २.५ जस्ता कणहरुलाई शोषण गर्छ, सतो कपडाजस्तो फोहोर देखिँदैन ।’
हरेकको घरको रुफटपमा एयर फिल्टर अभियान सुरु गर्नुपर्ने पनि साहको सुझाव छ । त्यसको लागि उनले हरेक घरको ट्यांकी छेउमा सस्तो वायु फिल्टर बनाउन अपिल गरेका छन् ।
आजभन्दा दुई वर्ष पहिला नै आफूहरुले काठमाडौंको हावा विश्वकै प्रदुषित बन्नेबारे भनेको स्मरण गराए । दुई वर्षसम्म आफूहरुलाई सरकारले बेवास्ता गरेको पनि उनको गुनासो छ । वायु प्रदुषण अहिलेको तुलनामा काठमाडौंमा १०औं गुणा बढ्ने र यसले ज्यान लिनसक्ने खतरा औंल्याए ।
आफूहरुको अवधारणा लागु गर्न वा त्यसमा परिवर्तन ल्याउनको लागि सरकारलाई एक वर्ष समय लाग्ने सुनाउँदै त्यो लागु गर्न सकिए काठमाडौंको हावा एक सय वर्ष पूरानोजस्तै बनाउन सकिने बताए । उनले भने,‘त्यो भनेको वर्क विथ र वाकिङ डिस्टान्स ल हो । त्यो आईदियो भने काठमाडौंमा ट्राफिक घट्छ । अहिलेको जंगलभन्दा चार–पाँच गुणा बढि हुन्छ ।’
रिसर्च सेन्टरमा अर्थशास्त्री, चिकित्सक र इन्जिनियरहरु समावेश रहेको जानकारी दिए । वायु प्रदुषण कम गर्नको लागि सरकारले ‘प्रदुषणसम्बन्धी कर’ नामको विभिन्न शीर्षकमा २५ अर्ब छुट्याएको भन्दै आफूले अघि सारेको योजनाअनुसार ५० करोड रुपैयाँमात्रै लाग्ने साहको भनाई छ ।
कार्यक्रममा राकेश कुमार देवले पनि धारणा राखेका छन् । देशभरिमा ८० प्रतिशत पेट्रोलियम पदार्थको खपत भइरहेको भन्दै धुँवा, धुलो फाल्ने सवारीलाई नियन्त्रणमा लिएर कारबाही गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया