काठमाडौं, २८ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अर्को सरकार बनाएर देखाउन चुनौती दिइका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले अर्को सरकार बनाउन सकेको खण्डमा राम्रो नै मान्नुपर्ने बताए । दुई ठूला दल मिलेर बनेको सरकारलाई सधै आलोचना र गाली भन्दा पनि काम गर्न दिनुपर्ने उनको भनाइ छ । अहिले आफूहरुले जनताको चाहनाअनुरुप काम गरिरहेको र देशको बिग्रिएको अर्थतन्त्र सुधारको लागि प्रयास भइरहेको उनले बताए ।
‘उहाँले सरकार बनाए भयो नि त । सरकार बनाउन सक्नुभयो भने त राम्रो कुरा हो नि । कसै न कसैले त सरकार बनाउनुपर्ला, मुलुक सरकारविहीन अवस्थामा त हुँदैन होला । दुईवटा ठूल्ठूला पार्टी मिलेर सरकार बनाएको छ भनेपछि यसलाई काम गर्न दिनुपर्यो नि । आलोचनामात्रै गरेर भएन नि । जनताको चाहनाअनुसार नै काम गरिरहेका छौं । बिग्रिएको अर्थतन्त्रलाई सच्याउने काम गरिरहेका छौं,’– उनले भने ।
उनले वर्तमान सरकारलाई रचनात्मक सुझाव दिएर ठीक कामलाई ठीक गरेको हो भन्न पनि प्रचण्डलाई आग्रह गरे । वर्तमान सरकार भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने प्रतिवद्धता व्यक्त गरेर बनेको उनको दाबी छ ।
त्यस्तै, फरक प्रसंगमा उनले आन्दोलनतर शिक्षकलाई वार्तामा आउन आग्रह गरे । वार्तामा नबसी शिक्षकहरुको समस्या समाधान हुन नसक्ने उनको भनाइ छ । ‘वार्तामा आएर उहाँहरु बस्नुपर्छ । सरकारले वार्ता आह्वान पनि गरेको छ । शिक्षकहरु सरकारसँग वार्तामा बस्ने र उहाँहरुको मागहरु के–के हुन्, छलफल गर्ने र गएर उहाँहरुले पठनपाठनको कार्य अगाडि बढाउनु राम्रो हुन्छ । शिक्षा ऐन, निजामति ऐन हामीले छलफलमा ल्याएका छौं । समितिमा छिटो छलफल गरेर यसलाई टुङ्गो लगाउने एउटा विषय हो । आजै ल्याउ भन्ने त हुँदैन,’– उनले भने । File Photo/RN




प्रतिक्रिया