विदेशी लगानीकर्ता नेपाल आउन इच्छुक छन्, सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ : चन्द्र ढकाल


काठमाडौं, २८ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशमा विकास र समृद्धिको लागि सरकार र निजी क्षेत्रबीच अर्थपूर्ण सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । उनले आफू सधैं आशावादी रहेको भन्दै देश विकास गर्न सकिने विश्वास दिलाए ।

प्रतिकूलतामा अनुकूलता खोज्दै देशमा केही गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार र निजी क्षेत्र लाग्नुपर्नेमा अध्यक्ष ढकालको जोड छ । उनले अहिले विदेशी लगानीकर्ताहरु पनि नेपाल आउन इच्छुक रहेको सुनाए । विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीको लागि राम्रो वातावरण बनाउनुपर्ने भन्दै त्यसको लागि सरकारलाई सल्लाह दिए ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले युवाहरुको चाहना पूरा गर्नको लागि देशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘म निराशा होइन, आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर, हाम्रा युवाको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्यालासहित रोजगारीका अवसर सिर्जना गर्न सक्दैनौं, निराशालाई आशामा बदल्न सकिँदैन, अहिले व्याप्त निराशा त्यसैको परिणाम हो ।ड