प्रधानमन्त्री ओलीले सुनाए अहिलेको सरकार बनाउनुको कारण


काठमाडौं, २८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको कांग्रेस–एमाले सरकार बन्नुको रहस्य खुलासा गरेका छन् । उनले भने,‘यो सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको हो । अहिले गतिशील स्थायित्व छ । सरकारको विश्वसनीयता छ । सरकारका नीतिहरू छिनछिनमा अस्वाभाविकरूपमा बदलिने र नकारात्मक असर पर्ने कामको अन्त्य गर्न नै यो सरकार आएको हो ।’

नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज (बिहीबार) सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताएका हुन् । उनले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने सङ्कल्प प्रकट भएकामा खुसी व्यक्त गर्दै निजी क्षेत्र विकासका लागि कम्मर कसेर आत्मविश्वासका साथ लागेकाले सरकार त्यसलाई सघाउन तयार रहेको स्पष्ट पारे ।

उनले अहिले सरकार र निजी क्षेत्रबीच् सहकार्य भैरहेको र यो नमूना सहकार्यको रुपमा अघि बढेको पनि विश्वास दिलाए । उनले भने,‘सरकार र निजी क्षेत्रको हाम्रो सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश हामी आफैले बनाउनुपर्छ । तीब्र गतिमा विकास गर्नुपर्छ । हामीले स्वदेशी वस्तुको प्रयोगलाई बढाएर लैजाँदा गर्व महसुस गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– निजी क्षेत्रले सरकारलाई प्रेरित गरोस् । यसका लागि कुनै आन्दोलन गरिरहनुपर्ने छैन ।’

प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिनका लागि विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै ठुला उत्पादन र उत्पादकत्व बढाउन अग्रसर रहेको जनाए । उनले निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको पनि स्पष्ट पारे । सरकारका विभिन्न मन्त्रीहरू सहभागी कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासङ्घका उत्कृष्ट प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो ।