गुल्मी, २८ चैत । जिल्ला कारागारमा रहेका कैदीबन्दी यतिबेला उद्योग कर्ममा रमाउन थालेका छन् । कारागारमा दुई वर्षदेखि काष्ठकला र फर्निचर उद्योग स्थापना गरेर यहाँका कैदीबन्दीले मासिक रूपमा न्यूनतम रु सातदेखि रु ४५ हजारसम्म कमाउँदै आएका छन् ।
कारागारभित्रको खाली समयलाई सदुपयोग गर्दै सीप सिकेर कैदीबन्दीले घर खर्च चलाउँदै आएका छन् । दिनहुँ बिहानदेखि बेलुका अबेरसम्म कोही फर्निचरमा कोही बाँसका मुढा बुन्ने काममा व्यस्त बनेको देखिन्छ । कारागारमा पहिलोपटक पुग्ने जोकोही पनि यहाँका कैदीबन्दीको काम देखेर आफैँमा दङ्ग पर्ने गर्छन् ।
गुल्मी कारागारलाई औद्योगिक ग्रामका रूपमा विकास गर्न थालिएको अनुभूति हुन्छ । कारागारलाई औद्योगिक ग्रामका रूपमा विकास गर्न थालिएको भए पनि कारगारको जग्गा र संरचना अभावमा समस्या भएको कारागारका प्रमुख रेश्मीराज पन्थीले बताए । आफूले बाहिर पनि काष्ठकलाकै काम गरेर ३० वर्ष बिताएको हुँदा कारागारमा पनि राम्रै कमाइ हुने गरेको एक कैदीले बताए । उनले मासिक रु ४५ हजारसम्म कमाउँदै आएको जनाउँदै समय कटाउन र घरखर्च व्यवस्थापन गर्न धेरै सजिलो भएको बताए ।
कारागारमा सबैभन्दा धेरै काष्ठकला र फर्निचरको काम गर्ने कैदीबन्दीको कमाइ धेरै हुने गर्दछ । काष्ठकलाका अतिरिक्त घरेलु हस्तकलाको काम गर्नेहरूको कमाइ पनि राम्रो छ । कारागारमा ३० जनाभन्दा बढिले काठको काम गर्ने र ४१ जना कैदीबन्दीले मुढाको काम गर्दै आएका छन् । कारागारमा बाँसको सिन्का चिर्ने र बुट्टा बनाउनेको न्यूनतम रकम मासिक रु सात हजार हुने गरेको चौकीदार हरिबहादुर थापाले बताए ।
उनका अनुसार कारागारमा सबैभन्दा बढी मूल्य पर्ने अष्टनागको आकृतिसहित सालको काठको चौकोस निर्माण गरिन्छ । त्यसको मूल्य रु आठ लाख पर्दछ । एउटा चौकोस निर्माण गर्न तीन जनाले एक महिनामा काम गर्नुपर्छ । त्यस्तै भक्तपुरे आँखीझ्याल, फोटो फ्रेम, सोफा, दराज, टेबललगायत आवश्यकताअनुसार सबै फर्निचरका सामग्री निर्माण गरिन्छ ।
यहाँका काष्ठकलाका सामग्री व्यक्तिगत साथै सरकारी कार्यालय र मठमन्दिरमा समेत प्रयोग भइरहेका छन् । बजार क्षेत्रमा रहेका अन्य फर्निचर उद्योगमा भन्दा कारागारमा उत्पादन गरिएका सामग्री राम्रो र सस्तो भएका कारण यहाँका स्थानीय सामान किन्न कारागार पुग्ने गर्दछन ।
गुल्मी कारागारको सबैभन्दा पुरानो उत्पादन बाँसका मुढा हो । कारागारका ४१ जनाले दैनिक मुढा बुन्छन् । बजारमा मुढाको माग धेरै छ । मागअनुसार आपूर्ति गर्न नसकिएको कारागार प्रशासनले जनाएको छ । काष्ठकला, फर्निचर र मुढा जिल्लामै सबैभन्दा बढी खपत हुने गरेको चौकीदार थापाले बताए । त्यसका अतिरिक्त पुरुषहरूले बाहेक महिला कैदीबन्दीले वर्षौँदेखि घरेलु हस्तकलाका सल, टोपी, सुटपाइन्ट, सुइटरलगायत सामग्री बुन्ने गरेका छन् । यहाँ उत्पादित सामग्री पोखरा, पाल्पा, काठमाडौँ, रसुवा, इलाम, सिराहादेखि जापानमा समेत कोसेलीका रुपमा पुग्ने गरेको चौकीदार थापाले बताए । रासस
प्रतिक्रिया