राजावादीलाई खबरदारी गर्न बुटवलमा आज एमालेको शक्ति प्रदर्शन, प्रधानमन्त्रीले सम्बोधन गर्ने


काठमाडौं, २९ चैत । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाँदैछन्। नेकपा (एमाले)ले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरू बुटवल जान लागेका हुन्। राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय यो सभाका लागि बुटवललाई छानिएको हो । देशको वर्तमान अवस्था जानकारी गराउने उद्देश्यसहित एमालेले शुक्रबार बुटवलमा लुम्बिनी प्रदेश स्तरीय जागरण सभा गर्ने र आफ्नो धारणा जनता र कार्यकर्तालाई जानकारी दिने जनाएको छ ।

एमालेले चैत २४ देखि ३० गतेसम्म गणतन्त्रको पक्षमा देशका विभिन्न ७ सहरमा गर्ने सभा अन्तर्गत बुटवलमा पनि सभा गर्न लागेको हो । रामनगर स्थित बुटवल मण्डपमा हुने सभालाई एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन।

एमाले प्रचार विभाग रुपन्देहीले हिजो पत्रकार सम्मेलन गरी सभाको तयारी पूरा भएको जानकारी दिएको छ । एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले प्रतिगामी गतिविधिका विरुद्ध जनतालाई सचेत पार्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाएकी छन्।

सभापूर्व बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० सय गाडी सहितको र्याली निकालिने, त्यसपछि पूर्वमा मुटु अस्पताल, दक्षिणमा कालिकाचोक, उत्तर र पश्चिमबाट जम्मा भएको टोली अस्पताल लाइन जम्मा भएर रामनगर स्थित कार्यक्रम स्थलमा जाने छ ।