काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक कोर्स परिवर्तन गर्न चाहेका छन् । आफू नेतृत्वको सरकारमा रहेकै बेलामा एमालेबाट अप्रत्यासित धोका व्यहोरेका दाहाल सुरुवातदेखि नै कांग्रेससँग नरम र एमालेसँग गरम देखिन्छन् ।
उनी एमाले नेतृत्व केपी शर्मा ओलीसँग अलिक बढि नै असन्तुष्ट छन् । संसद् र सडक सबै मोर्चामा प्रचण्ड प्रधानमन्त्री अोलीविरुद्ध नै अलिक बढि कडा रुपमा पेश भइरहेका छन् । कांग्रेस–एमाले सहकार्यपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँगको भेटवार्तापनि मुस्किलले दुई/तीन पटक गरेका छन् । त्यो पनि देउवासहित भेटेका छन् ।
शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने सवालमा मुख्य दलका मुख्य नेताहरु एक ठाउँमा भेला भएका थिए । तर, प्रधानमन्त्री ओली र प्रचण्डबीच एक्लाएक्लै यो पछिल्लो ९ महिनामा राजनीतिक हिसाबले भेटवार्ता भएको छैन । तर, कांग्रेस सभापति शेरबहादुर देउवासँग भने उनले लगातार भेटवार्ता गरिरहेका छन् । दाहालको पारिवारिक समारोहमा समेत देउवाले भाग लिएका छन् ।
हुन त कांग्रेस र एमाले सहकार्यमा प्रधानमन्त्री ओलीभन्दा बढि जोड देउवाको थियो भन्ने गरिन्छ । देउवाले पनि सार्वजनिक रुपमा नै अहिलेको सरकार सफल भएको र प्रधानमन्त्री ओलीले एकदमै राम्रो काम गरिरहेको दाबी गर्दै आएका छन् । प्रचण्डले पनि सरकार बनाउने वा भत्काउने खेलमा आफू कम्तिमा नलाग्ने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । तर, पछिल्लो दुई साता यता प्रचण्ड सरकारकै कारण सडकमा जनआक्रोश बढेको र राजावादीहरुको प्रदर्शनमा पनि सरकारकै दोषी रहेको निश्कर्षमा पुगेका छन् ।
उनले प्रधानमन्त्री ओलीकै कार्यशैलीको कारण प्रतिगामी शक्तिहरुलाई मलजल भएको र उनीहरु सडकमा उत्रिएको निश्कर्ष निकालेका छन् । अहिले उनले कांग्रेस नेतृत्वसमक्ष सरकारको नेतृत्व लिन सन्देश पठाएको उच्च स्रोतको दाबी छ । हुन त दाहाल आँफैले पनि एक टिभी अन्तर्वार्तामा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने मत राखेका छन् । त्यसमा माओवादीले निशर्त सघाउने दाहालको भनाई छ ।
परिवर्तनलाई आत्मसात गर्ने शक्ति भएकोले र १२ बुँदे समझदारीको पनि मुख्य शक्ति भएकोले कांग्रेस र माओवादीबीच सहकार्य आजको आवश्यकत्ता भएको प्रचण्डको ठम्याई छ । उनले देउवालाई सरकारको नेतृत्व लिन आग्रह गरेका छन् । सरकारमा नगएर भएपनि आफ्नो दलले सघाउने उनको भनाई छ । प्रधानमन्त्री ओली भारत भ्रमणमा फर्केपछि कांग्रेस नेताहरुले समेत प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सार्वजनिक रुपमा आलोचना गर्न थालेका छन् । खासगरी गगन थापाले प्रधानमन्त्री डुलेर हिँडेको र भाषणमात्रै गरेको भन्दै प्रश्न उठाएका छन् ।
उनले आफूहरुले सहयोग गरेपनि प्रधानमन्त्री ओलीले काम गर्न नसकेको आशयले आलोचना गरेका छन् । अर्का नेता डा. शेखर कोइरालाले पनि आजपनि सरकारको आलोचना गरेका छन् । उनले सरकार गठन गर्दाको सहमतिबाट ब्याक भैरहेको भन्दै आलोचना गरे । कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको भनेर शेखरको आलोचना रहँदै आएको छ।
उनले एमालेलाई भोलिको मुख्य प्रतिष्पर्धी ठानेका कांग्रेस नेताहरुले सरकारको आलोचना गर्नु र प्रचण्डले पनि कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव राख्नु समय मिल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अहिले एमाले आँफै सरकारको नेतृत्वमा भएपनि सडकमा पनि उसकै कार्यक्रम बढि देखिएका छन् । एमालेले देशव्यापी रुपमा जागरणसभा आयोजना गरेको छ । आज प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा सभा राखिएको छ ।
आगामी बैशाख ११ गते काठमाडौंमा ४० वर्ष ननाघेका एक लाख युवा उतार्ने एमालेको घोषणा छ । आँफै सरकारमा भएपनि एमालेले सडकमा प्रदर्शन गर्दा राम्रो सन्देश नगएको कतिपयको टिप्पणी छ । प्रचण्डले आज÷भोलिभित्रै देउवालाई भेटेरै सरकारको नेतृत्व लिन प्रस्ताव राख्ने बुझिएको छ ।
नयाँ वर्ष २०८२ लाग्नेबित्तिकै दाहाल सत्ता–सहकार्यको लागि ब्ल्यांक–चेक बोकेर बुढानीलकण्ठ जाने मुडमा छन् । देउवाले पनि बिस्तारै आँफै सरकारको नेतृत्व लिनेगरि छलफल थालेको उच्च स्रोतको दाबी छ । राजावादीहरुको आन्दोलन, नेपाल–भारत सम्बन्धमा देखिएको चिसोपना र पार्टीभित्रको आन्तरिक समिकरण दायाँबायाँ हुने भयलगायतका विषयले पनि देउवा सरकारको नेतृत्व आँफै लिने तयारीका साथ अघि बढेको बताईन्छ ।
प्रतिक्रिया