पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले महाउत्सवको रुपमा ‘नगरकोट भ्रमण वर्ष’ आयोजना गरेका छौंः मेयर खत्री


काठमाडौं, ३० चैत । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आयोजना गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी भ्रमण वर्ष र यसको तयारीबारे जानकारी गराइएको हो । नगरकोटको बतासे डाडाँमा आयोजित भव्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडलले आगामी वैशाख १ गते भ्रमण वर्षको उद्घाटन गर्ने बताइको छ ।

भ्रमण वर्ष १ वर्षभरि चल्ने र सो क्रममा १ लाख अन्तर्राष्ट्रिय र १० लाख आन्तरिक पर्यटक भित्र्याउने आयोजकको लक्ष्य रहेको छ । नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रचार प्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा नगरकोट भ्रमण वर्ष आयोजना गरिएको हो । भ्रमण वर्षको प्रवद्र्धकको रुपमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड रहेका छन् ।

चाँगुनारायण नगरपालिका नगरप्रमुख जीवन खत्रीले देशकै पर्यटकीय क्षेत्रमा टेवा पुर्याउने लक्ष्यका साथ नगरकोट भ्रमण वर्ष आयोजना गरिएको बताए । भ्रमण वर्षलाई वर्षभरी नै महाउत्सवको रुपमा लिएर जाने आफूहरुको संकल्प रहेको पनि उनले बताए । ‘हामीले नगरकोट भ्रमण वर्षलाई नेपालकै भ्रमण वर्षसँग जोडेर पर्यटन क्षेत्रमा टेवा पुर्याउने, योगदान दिने लक्ष्यका साथ चार वटा नगरपालिका संयुक्त रुपमा यो भ्रमण वर्षलाई महाउत्सवको रुपमा लिएर जाने संकल्प गरेका छौं,’– मेयर खत्रीले भने ।

नगरकोट तीन वटा जिल्ला र चार वटा नगरपालिकाको सीमाना क्षेत्र रहेकाले ती क्षेत्रका प्रकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक महत्वका वस्तुहरुको प्रचार प्रसार र उजागर गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरिएको पनि उनले बताए । ‘नगरकोट क्षेत्र भन्नाले हाम्रो चारवटै नगरपालिका र तीनवटै जिल्लाको सीमाना क्षेत्र रहेको कारणले हाम्रो मुख्य उद्देश्य हामीभित्र रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक, सबै चिजको उजागर गर्ने, उजागर गर्न धेरै बाँकी चिज हाम्रा पालिकाभित्र छन् । त्यहाँ यति सम्पदा र संस्कृतिहरु छन्,’– उनले भने ।

नगरकोट विगतमा सूर्योदय र सूर्योस्तका लागि नेपाली र विदेशी पर्यटकहरको लागि पहिलो रोजाइ रहेपनि कोभिड–१९, विनासकारी भूकम्प र बाटोको कारण अहिले पर्यटकको संख्या घटेको बताए । नगरकोट चार वटै नगरपालिकाको समृद्धि र विकाससँग पनि जोडिएको उनले बताए । ‘नगरकोट हिजो सूर्योदय र सूर्योस्तका लागि नेपाली मात्रै होइन, विदेशी पर्यटकको पनि पहिलो रोजाइको केन्द्र थियो । तर, बीचमा कोभिड–१९, विनासकारी भूकम्प र बाटोको कारण हाम्रो नगरकोटमा आउने पर्यटकहरु अन्यत्र क्षेत्र जाने भए,’– उनले भने ।

भ्रमण वर्ष सफल पार्न मण्डन देउपुरका नगरप्रमुख टोपबहादुर वाईवाको संयोजकत्वमा चाँगुनारायणका नगरप्रमुख खत्री, उपप्रमुख रमेश बुढाथोकी, बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल, शंखरापुरका नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, मण्डन देउपुरका उपप्रमुख विष्णुमणि नेपाल र चार वटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत १ हजार १ सय १ सदस्यीय संयुक्त मूल आयोजक समिति र विभिन्न ९ वटा उपसमिति गठन गरिएको छ ।

नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरिएको बताइएको छ । नगरकोटसँग चारवटै नगरपालिकाको पर्यापर्यटन, कृषि पर्यटन, त्यस क्षेत्रका जातजाति, भेषभूषा, जात्रा, पर्व, सांस्कृतिक पहिचानलगायतको उजागर गर्र्दै होमस्टेहरुको विस्तार गर्ने गरी भ्रमण वर्ष मनाइने आयोजकको भनाइ छ ।