जनताले विद्या भण्डारीलाई राजनीतिमा खोजिरहेका छन्, एमालेमा पनि उहाँको पक्षमा बलियो मत छः लालबाबु यादव (भिडिओसहित)


काठमाडौं, ३१ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले अहिलेको परिस्थितिमा विद्यादेवी भण्डारी राजनीतिमा फर्किएको खण्डमा जनताको देखिएको असन्तुष्टि सम्बोधन गर्न सक्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता यादवले विगतमा भण्डारीले जुन जिम्मेवारी पाए पनि त्यो राम्रोसँग निर्वाह गरेको बताए । भण्डारीलाई राजनीतिमा फर्किन संविधान र कानुन बाधक नरहेको र एमालेमा भण्डारी राजनीतिमा आउनुपर्छ भन्ने एउटा पक्ष तयार भइसकेको उनको भनाइ छ ।

‘राजनीतिमा उहाँको आवश्यकता छ, आउनुस् भन्ने एउटा पक्ष त देखियो नि । संविधानले रोकेको छैन । उहाँले पनि अहिलेसम्म बोल्नुभएको छैन । उपराष्ट्रपति पुन त माओवादीको उपाध्यक्ष हुनुभयो । उहाँलाई पनि संविधानले रोकेको छैन,’– उनले भने ।

राष्ट्रपतिको दुई कार्यकालमा पनि भण्डारीले कसैले प्रश्न उठाउन नसक्नेगरी काम गरेको उनको दाबी छ । राजनीतिमा अहिले नेपाल र नेपाली जनताले भण्डारीको आवश्यकता खोजिरहेको उनले बताए । File Photo/RN