काठमाडौं, ३१ चैत । अर्थविद् एवं राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले देशको अवस्था धेरै अप्ठ्यारो र कहालीलाग्दो रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको र वर्तमान सरकारले यसको सुधारको प्रयास पनि गरिरहेको बताएका हुन् । अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी अग्रसरता लिइरहेको उनले बताए । विश्लेषक सुवेदीले कानुनी सुधार हुँदा लगानी बढ्ने र जनताले विस्तारै त्यसको प्रतिफल प्राप्त गर्दै जाने बताए
‘यस बीचमा केही कानूनी सुधारहरु सरकारले गरेको छ । प्रधानमन्त्रीजीले सुधार गर्छु भन्नुभएको छ । ती सुधारहरुको परिणाम हामीले पर्खेर बसेका छौं । अर्थतन्त्रमा रातारात सुधार आउँदैन । धेरै लामो समयदेखि विद्युत खरिद सम्झौता नभएर त्यस क्षेत्रमा लगानी पनि भएको थिएन । नेपालको डण्डी र सिमेन्ट उद्योग बडो अप्ठ्यारो अवस्थामा थियो । अब त्यो पनि खोलेपछि केही सुधार होला । सुधारको परिणाम आउन दशैंतिहारसम्म त हामीले कुर्नुपर्छ,’– उनले भने ।
फरक प्रसंगमा उनले कांग्रेस–एमालेको सरकारले अर्थतन्त्र र विदेशी नीतिमा गति लिन नसकिरहेको बताए । दुवै विषयमा अहिले अलमलको अवस्था रहेको उनले बताए । संसारमा विदेशी नीति परिवर्तन भएजस्तै नेपालले पनि समयसापेक्ष परिवर्तन गर्न सक्नुपर्ने बताए । अर्थतन्त्रको अवस्थामा सुधार र विदेश नीति परिवर्तन नगरी मान्छेमात्रै परिवर्तन गरेर देशको अवस्था सुधार नहुने उनको दाबी छ ।
प्रतिक्रिया