केही नयाँ कुराको आधारमा कांग्रेसको नेतृत्वमा सरकार बन्छ भनेको हुँः प्रचण्ड


काठमाडौं, ३१ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने संकेत गरेका छन् । आज (आइतबार) गृहजिल्ला चितवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आफूले केही नयाँ अनुभवको आधारमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुरा गरेको बताएका हुन् । उनले अब देश कांग्रेसको नेतृत्वमा सरकार बन्ने दिशातिर अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे ।

आफूले प्रतिनिधिसभामा विश्वासको मत लिने बेलादेखि नै सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नु सही हुने कुरा गरिरहेको बताउँदै प्रचण्डले भने, ‘मैले त विश्वासको मत लिँदादेखि नै सही कुरा के हो भने सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने सही कुरा हो त्यतिबेला भनेको हो । अहिले पछिल्लो चोटी भन्दा थुप्रै घटनाक्रमहरु नयाँ भए । केही नयाँ अनुभवसहित भनेको हो । अहिले मलाई धेरै त्यो भन्दा बढी बोल्न नलगाउँदा राम्रो । केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो । मलाई लाग्छ त्यही दिशातिर देश जान्छ ।’

अध्यक्ष प्रचण्डले आफूहरुको ध्यान सरकारतिर नरहेपनि केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अगाडि जान सहज छैन भन्ने कुरा परिस्थितिले देखाइरहेको बताए । वर्तमान सरकारविरुद्ध चौतर्फी आक्रोश, आवेग र असन्तुष्टि जनतामा बढ्दै गएको उनले बताए । नयाँ वर्षले राजनीतिक निकास दिने उनले विश्वास व्यक्त गरे । ‘परिस्थिति निकै नै जटिल र पेचिलो बन्दै गएको छ । तर, मलाई लाग्छ नयाँ वर्षले केही न केही निकास चाही लिएर आउँछ,’– उनले भने ।

यो पनि पढ्नुहोस्ः सत्ता समीकरण परिवर्तनको संकेत गर्दै प्रचण्डले भनेः यो सरकार धेरै अगाडि जान सहज छैन

सत्ता-सहकार्यको लागि नयाँ वर्षमा ब्ल्यांक-चेक बोकेर बुढानीलकण्ठ जाने मुडमा प्रचण्ड

संविधान संशोधन गर्न जति ढिला हुन्छ, त्यति नै सडक आक्रोशित बन्दै जान्छः कांग्रेस नेता डा.कोइराला

सरकारविरुद्ध निरन्तर असन्तुष्टि ओकल्दै गगन, ताप्के नतातेर बिँडमात्रै तातेको टिप्पणी

प्रचण्डकी नातिनीको विवाहमा देउवा सरिक, सम्बन्धमा हार्दिकता