वीरगन्ज महानगर र आसपासका क्षेत्रमा लम्बियो कर्फ्यु


काठमाडौं, ३१ चैत । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिका र आसपासका क्षेत्रमा निषेधाज्ञाको समय बढाएको छ । आज मध्यान्न १२ बजेसम्मको लागि तोकिएको कर्फ्यू आदेश बढाएर राति १२ बजेसम्म पुर्याइएको हो । हिजो (शनिबार) हनुमान जन्मोत्सवका अवसरमा वीरगन्जमा दुई समुदायबीच झडप भएको थियो । त्यसपछि प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार दुवै समुदायबीच सहमति हुन नसकेपछि कर्फ्यु आदेश लम्ब्याइएको हो ।

शनिबारको झडपमा सर्वसाधारण र सुरक्षाकर्मी गरेर ३७ जना घाइते भएका थिए । प्रशासनले पूर्वमा बाईपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेट सीमाना तोकी कर्फ्यु आदेश जारी गरेको हो ।

‘हिजो मिति २०८१/१२/३० गते साँझ ७स्३० बजेदेखि मिति २०८१/१२/३१ गते दिनको १२ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्र भित्रका केही स्थानहरुमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएकोमा देहाय बमोजिमका चार किल्ला तोकी आज मिति २०८१/१२/३१ गते राति १२:०० बजेसम्मका लागि उक्त कर्फ्यू आदेशको समयावधि थप गरिएको छ,’– प्रमु्ख जिल्ला अधिकारीद्वारा अर्यालद्वारा जारी आदेशमा भनिएको छ ।