चिकित्सक संघद्वारा नयाँ वर्षको अवसरमा काठमाडौंमा प्रातःकालीन हिँडाइ आयोजना, स्वास्थ्यमन्त्री पौडेल, महानायक हमाललयात पनि सहभागी हुने


काठमाडौं, ३१ चैत । नेपाल चिकित्सक संघले नयाँ वर्षको अवसर पारेर भोलि (सोमबार) काठमाडौंमा प्रातःकालीन हिँडाइ (मर्निङवाक) को आयोजना गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी चिकित्सक संघको आयोजना,नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्य र डा. किशोर खत्रीको संयोजकत्वमा काठमाडौंमा प्रातःकालीन हिँडाइको आयोजना गरिएको जानकारी गराइएको हो ।

चिकित्सक संघका केन्द्रीय सदस्य एवं बाल रोग विशेषज्ञ डा.खत्रीले भोलि विहानको हिँडाइँमा दृष्टिविहीन, ह्वीलचियरको सहायताले हिँड्नसक्ने अपाङ्गहरुसहित आम जनसमुदाय सहभागी हुने बताए । डा.खत्रीले भोलिको हिँडाइमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, महानायक राजेश हमाललगायतको सहभागिता रहने पनि जानकारी गराए ।

नयाँ साल २०८२ वैशाख १ गते विहान साँढे ६ बजे माइतिघर मण्डलामा जम्मा भएर विजुली बजारको पुलसम्म र फेरस् फर्किएर माइतीघरमै पुग्ने कार्यक्रम रहेको उनले बताए । प्रातःकालीन हिँडाइको उद्देश्य सम्पूर्ण मानव जातिलाई ‘हामी हिँड्यौं भने स्वस्थ्य हुन्छौं’ भनेर सचेतना फैलाउनु रहेको डा.खत्रीले बताए । विहानको हिँडाइले शरीर स्वस्थ्य राख्न मद्धत गर्ने र धार्मिक–पर्यटकीय क्षेत्रमा पुगेर प्रवद्र्धन गर्न पनि सकिने उनले बताए । डा. खत्रीले ‘स्वस्थ्य समाज हाम्रो चाहना, प्रातः कालीन हिँडाइ हाम्रो साधना’ भन्ने मूल मन्त्रका साथ आफूहरुले प्रातःकालीन हिँडाइको अभियान दाङबाट सुरु गरिसकेको र यसलाई देशभर फैलाउने लक्ष्य रहेको बताए ।

‘हामीले विहानको समय आफ्नो शरीरको लागि निकाल्नुपर्ने हुन्छ । त्यसको लागि सबैभन्दा उत्तम उपाय भनेको प्रातःकालीन हिँडाइ हो । प्रातःकालीन हिँडाइ गरेर हामीहरुले आफ्नो शरीर स्वस्थ्य राख्न सक्छौं प्रातःकालीन हिँडाइ सबै नेपालीहरुलाई एउटै मालामा गाँस्ने हाम्रो उद्देश्य पनि हो । यो अभियान हाम्रो दाङबाट सुरु भएको अयिभान हो । अहिले हामी काठमाडौंमा छौं,’– उनले भने ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मान्यताअनुसार शारीरिक, मानसिक र आध्यात्मिक र सामाजिक रुपमा स्वस्थ्य रहनुलाई पूर्ण स्वस्थ्यता भन्न सकिने उनले बताए । डा. खत्रीले शारीरिक र मानसिक स्वस्थ्यका लागि प्रातःकालीन हिँडाइ एकदमै महत्वपूर्ण रहेको बताए ।

डा.खत्रीले मानिसमा रोग, शोक र भोक नभएमात्रै अनुहारमा मुस्काउन आउने र यी तिनवटै कुरालाई मानिसले त्याग्न सक्नुपर्ने बताए ।