काठमाडौं, १ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले निकट भविष्यमै पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भेटले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देउवा एमालेको भोटले प्रधानमन्त्री नबन्ने बताएका हुन् । उनले आफूले विगतदेखि नै २ वर्षभित्रमा प्रचण्डको भोटले देउवा प्रधानमन्त्री बन्ने दाबी गर्दै आएको र अब त्यो दिन नजिकै रहेको उनले बताए ।
‘करिब करिब २ वर्षभित्र प्रचण्डको भोटले शेरबहादुर देउवा प्रधानमन्त्री हुन्छन् भनेर मैले पहिला नै भनेको थिएँ । प्रचण्डले भोट हाल्छन्, आफू बन्ने तरिका मिलेको छैन । मिल्दैन क्यारे । शेरबहादुरलाई त बनाउनु पर्यो । सबैभन्दा ठूला दल उनकै हो,’– उनले भने ।
साथै, वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार माओवादीका कारण नढलेर आफ्नै कारण ढल्ने उनले बताए । अहिले उनीहरु आपसमा ङ्यार्ङ्यार–ङुर्ङुर गर्न थालिसकेको र अब देउवाले प्रचण्डसँग भोट माग्नुको विकल्प नरहेको उनले बताए ।
‘माओवादीले ढाल्ने भनेको होइन । अहिले परिस्थिति त्यस्तै बनेको छ । कांग्रेस र एमाले आपसमा ङ्यार्ङ्यार–ङुर्ङुर गर्न थालेका छन् । देशलाई सरकार त चाहियो एउटा । भोट माग्न त देउवाजी प्रचण्ड कहाँ आउनै पर्यो । अनि प्रचण्डसहितका साना पार्टीहरुले देउवालाई भोट दिएपछि उनी प्रधानमन्त्री हुन्छन् । यो प्रचण्डले ढाल्ने होइन । आफैं ढल्ने हो,’– उनले भने ।
प्रतिक्रिया