कैलाली, १ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ वर्ष २०८१ को पावन अवसरमा देशमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम होस् भन्ने शुभकामना दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहले नयाँ वर्षले देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धि कायम रहोस् शुभकामना दिएका छन् ।
हरेक नयाँ वर्षलाई विगतको समीक्षा गर्ने र नयाँ सङ्कल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्दै आएको उनले बताए । “नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव हो”, उनले भनेका छन्, “नयाँ वर्षको सुरुआत भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक छ ।”
मुख्यमन्त्री शाहले नयाँ वर्षले समाजमा विद्यमान अन्धविश्वास, कुरीति एवं कुसंस्कारलाई हटाउँदै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिए ।
साथै नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । रासस
प्रतिक्रिया