काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसका प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कल्पना गर्न नसकिने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिलाई शुद्धीकरण गर्दै जानुपर्ने अवस्था भएपनि पूर्वराजा ज्ञानेन्द्रको शासन भने कल्पना गर्न नसकिने बताएका हुन् । ज्ञानेन्द्र शाहको नेतृत्वको नेपालमा शासनको कल्पना पनि गर्न सकिँदैन,’– उनले भने ।
अब नेपालमा जे मन लाग्यो त्यही गर्न पाउने ज्ञानेन्द्रले सोचेको स्वतन्त्रता नहुने बताए । नागरिकको स्वतन्त्रलतालाई शान्तिपूर्ण मतदान र अभिमतद्वारा प्रयोग गरिनुपर्ने उनले बताए । बहुदलीय संसदीय व्यवस्था नै विश्वको उत्कृष्ट व्यवस्था रहेको उनले बताए । ‘बहुदलीय संसदीय व्यवस्थालाई नै विश्वको उत्कृष्ट व्यवस्था मानिएको छ । यसलाई खलल पुर्याउने गरिने प्रयास, ज्ञानेन्द्र शाहले प्रस्तुत गरेको धारणा अराजक, असंगठित र मनोमानी ढंगबाट हिंसा, आतङ्क मच्चाउने स्वतन्त्रताको ब्याख्या नेपाली नागरिकले कहिले पनि कल्पना गरेका छैनन्,’– उनले भने ।
नर्या वर्षको अवसरमा पूर्वराजाले सार्वजनिक गरेको भिडिओ सन्देशबारे टिप्पणी गर्दै नेता विश्वकर्माले उनीसँग आफ्ना केही पिता पुर्खाको नाम लिनुभन्दा बाहेक अर्को योग्यता नरहेको बताए । उनले भने, ‘अहिले ज्ञानेन्द्र शाहसँग आफ्ना जिजुबाजेहरुको नाम लिनुबाहेक आफूसँग थोपो योग्यता छैन । उनीसँग एउटा थोपो न कार्यक्रम छ, न सिद्धान्त छ, न कुनै आचरण छ, न व्यवहार छ । जनता ज्ञानेन्द्र भन्दा धेरै अगाडि बढिसकेका छन् । डुब्नेको सिन्का सहारा भनेजस्तो उनी पृथ्वीनारायण शाहको नाम लिँदा हुन्छ कि भन्ने प्रयत्न गरेका छन् । त्यो उनको दुष्प्रयासबाहेक केही पनि होइन ।’
प्रतिक्रिया