उच्च अदालतले भन्यो, ‘निलम्बित न्यायाधीश गिरीमाथिको बलात्कार अभियोग वस्तुनिष्ठ प्रमाणहरूबाट पुष्टि हुन सकेन’


काठमाडौं, १ वैशाख । उच्च अदालत पाटनले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गिरीलाई बलात्कार मुद्दामा सफाइ दिएको हो । निलम्बित न्यायाधीश गिरीमाथि उनीकी श्रीमती आरती रावल गिरीले बैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिईन् ।

काठमाडौं जिल्ला अदालतले निलम्बित न्यायाधीश गिरीलाई उक्त मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो । सफाइ पाएसँगै उनी आज कारागार कार्यालय डिल्लीबजारबाट रिहा भइसकेका छन् ।

फैसलाअनुसार मिसिल संलग्न प्रयोगशाला परीक्षण प्रतिवेदन समेतबाट उनीहरूबीच शारीरिक सम्बन्ध भए‌को देखिने कुनै तथ्य स्थापित हुन सकेको पाइँदैन । जाहेरवालाको बकपत्रमा उल्लेख कुराहरु पनि अभियोगको वारदात शंकारहित तवरबाट स्थापित हुन नसकेको फैसलामा उल्लेख छ ।

‘जाहेरवालाको बकपत्रमा उल्लेख भएबाट प्रस्तुत अभियोगको वारदात शंकारहित तवरबाट स्थापित हुनसकेको देखिँदैन । सो समेतको परिस्थितिमा गिरीमाथिको अभियोग वस्तुनिष्ठ प्रमाणहरूबाट पुष्टि हुन नसकेकोले यी प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिनुपर्ने,’– फैसलामा भनिएको छ ।