काठमाडौं, २ वैशाख । बहिनीको हत्या गरेको आरोपमा १५ वर्षीय दाजु पक्राउ परेका छन् । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका–१२ मंगलबजार बस्ने ११ वर्षीय दुर्गा बोहरा गत चैत ४ गते रातिदेखि हराएको भन्दै उनकी आमा भगबती बोहराले प्रहरीमा उजुरी दिएकी थिईन् ।
उजुरीपश्चात खोजतलास गर्ने क्रममा चैत २९ गते दुर्गाको शव ललितपुर महानगरपालिका–९ खपिन्छेस्थित बाबुराजा अवालेको घरको भुई तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा शव फेला परेको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा आफ्नै १५ वर्षीय दाजुको संलग्ता देखिएकाले नियन्त्रणमा लिएर तथ अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।
सीसीटिभी फुटेजमा गत चैत ४ गते मृतक र उनको दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घरतर्फ जाँदै गरेको देखिएपछि दाजुतर्फ प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा कोठा सर्दा छुटेका कपडाहरु लिन भनि दाजु बहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनीलाई पिटी उक्त ठाउँमा रहेको नाईलनको डोरीले पछाडिबाट घाटी कसेर भुईमा लडाई छोडी भागेको स्वीकार गरेको प्रहरीले बताएको छ ।
साथै, दाजुबहिनीले नै लागूऔषधको ट्याबलेट खाएको र त्यसको नशामा त्यस्तो घटना हुन गएको पक्राउ परेका ती बालकले बताएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार चैत ५ गते विहान नशाले छोडेपछि आफूले बहिनिमाथि गरेको आक्रमण सम्झी उक्त घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको र बहिनीको लाश भुई तल्लाको भर्याङको छेउमा देखेपश्चात लाश ट्याङ्किमा हाली सिमेन्टले बनाएको ढक्कन लगाई छोपेर छोडिगएको ती बालकले बताएका छन् ।
प्रतिक्रिया