हाम्रो एउटामात्रै माग शिक्षा ऐन हो, प्रधानमन्त्रीले छलफलमा बसौं भन्नुभयो भने हामी जान्छौंः लक्ष्मीकिशोर सुवेदी


काठमाडौं, ३ वैशाख । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यस पटकको आन्दोलनमा कुनै सहमति नहुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले अहिले संसद्को विशेष अधिवेशन बोलाएर, तत्काल वर्षे अधिवेशन बोलाएर वा अध्यादेशमार्फत भएपनि तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनमा होमिएको बताएका हुन् । सरकारको इच्छाशक्तिको अभावका कारण शिक्षा ऐन जारी नभएको उनको आरोप छ ।

शिक्षकहरुको आन्दोलन १५औं दिनमा प्रवेश गर्दा पनि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा कुनै चासो नदेखाएको उनले बताए । अध्यक्ष सुवेदीले प्रधानमन्त्रीले बोलाएको खण्डमा आफूहरु वार्तामा बस्न तयार रहेको पनि बताए । ‘हामी प्रधानमन्त्रीज्यूले यो विधिबाट विद्यालय शिक्षा ऐन जारी गर्न सरकार तयार छ, सरकारले सम्बोधन गर्ने यो–यो माग तपाईँहरुको सम्बोधन गर्यौं । आउनुस् बसौं, छलफल गरौं भन्नुभयो भने हामी जान्छौं,’– उनले भने ।

उनले आफूहरुले २०७५, ०७८, ०८० मा तीन पटक आन्दोलन गरेको बताउँदै यस पटक कुनै सहमति नहुने बताए । विगतमा गरिएका सहमतिको कार्यान्वयन गरी आफूहरुको माग र मुद्दा सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने आफूहरुको एकशुत्रीय माग रहेको उनले सुनाए । ‘यस पटकको आन्दोलन नयाँ सहमतिका लागि गरिएको छैन । यस पटकको आन्दोलनको उद्देश्य मन्त्रिपरिषद्ले गर्ने निर्णयहरु मन्त्रिपरिषद्ले गरोस् । सबै ऐनसँग जोडिएका पनि छैनन् । अन्य ऐनसँग जोडिएका विषयहरु विगतका सबै सहमतिहरु सम्बोधन हुनेगरी विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गरियोस् । त्यति हो शिक्षकहरुको माग,’– उनले भने ।