काठमाडौं, ३ बैशाख । कांग्रेस–एमाले सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । सरकारको कामकारबाही प्रभावकारी बनाउनको लागि गठित संयन्त्रको बैठक आज साँझ बस्ने भनिएको छ । तर, कांग्रेसबाट संयन्त्रमा रहेका महामन्त्री गगन थापा भने कामविशेषले बारा जाने कार्यक्रम तय भएकोले बैठकमा सहभागी हुने वा नहुने भन्नेबारे खुलाईएको छैन् ।
पछिल्लो समय कांग्रेस–एमाले सत्ता–सहकार्यमा समस्या देखिएको चर्चा छ । यसैबीच हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग एक घण्टा लामो छलफल गरेका छन् । दुई नेताबीच सरकार सञ्चालनमा देखिएका मतभेद हल गरेर जाने विषयमा छलफल भएको बताईन्छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको आयु लामो नभएको र छिट्टै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेपछि एमाले नेतृत्व पँक्ति सशंकित बनेको छ । हिजोमात्रै कांग्रेस महामन्त्री थापाले पनि सरकारको गतिलाई लिएर प्रश्न उठाएका थिए । उनले सरकारको प्रस्तुतिलाई लिएर रामराम भन्न सकिने भन्दै एक कदम अघि बढेर आलोचना गरेका थिए । उनले अहिले विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म पुगेको पनि दाबी गरेका थिए । file photo




प्रतिक्रिया