सरकारको गलत क्रियाकलापको कारण प्रतिगामीहरुले धमिलो पानीमा माछा मार्न खोजेका छन्, त्यसलाई सफल हुन दिइने छैनः प्रचण्ड


काठमाडौं, ६ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको गलत क्रियाकलापका कारण प्रतिगामी शक्तिहरुले धमिलो पानीमा माछा मार्न खोजेको बताएका छन् । आज (शनिबार) नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले धमिलो पानीमा माछा मार्न खोज्ने प्रतिगामीहरुको दुष्साहस सफल नहुने बताएका हुन् । ‘अहिले प्रतिगामी षड्यन्त्र जो देखापर्न खोजेको छ, त्यो सरकारका गलत काम, क्रियाकलापको कारणले धमिलो पानीमा माछा मार्ने दुष्साहसजस्तो गरेका छन् । त्यो सफल हुने छैन । त्यसलाई सफल हुन दिइने छैन,’– उनले भने ।

अध्यक्ष प्रचण्डले आफू पहिलो पटक प्रधानमनत्री हुँदा राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मान र आदर्शलाई पछ्याउँदै गरिब किसानहरुको ३० हजारसम्मको ऋण मिनाह गरिदिएको पनि बताए । ‘शंखधर साख्वा राष्ट्रिय विभूतिलाई औपचारिक रुपले सम्मान गर्नेमात्रै होईन । उहाँका आदर्श पछ्याउनुपर्छ भनेर पहिलो चोटी प्रधानमन्त्री हुँदा मैले गरिब किसानहरुको ऋण मिनाह गर्ने निर्णय गरेको थिएँ । ३० हजारसम्मको ऋण मिनाह पनि भएको थियो । शंखधर साख्वाप्रतिको त्यो सम्मान र उहाँको आदर्श पछ्याउँदै अघि बढ्ने मेरो प्रतिवद्धता, हाम्रो दलको प्रतिवद्धता र नेपाल सरकारको त्यतिबेलाको प्रतिवद्धता थियो,’– उनले भने ।

त्यस्तै, आफूले नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरेको, नेपाल भाषलाई सरकारी दस्ताबेजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेको र आफ्नै निर्देशन र सल्लाहमा प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको पनि उनले बताए । अध्यक्ष प्रचण्डले आफूले नेवार समुदायको निम्ति उठाएका कदम र गरेको कामको मूल्याङ्कन गरी नेवार समुदायले अभिनन्दन गरेको स्मरण गरे ।