पहिचान आन्दोलन अभियन्ताहरूले भने : हामी विकासविरोधी होइनौं, सरकारले वार्ता नगरी पेल्यो भने प्रतिरोधमा उत्रिन्छौं (भिडिओसहित)


काठमाडौं, ११ बैशाख । पहिचान आन्दोलन अभियन्ताहरुले सिधा सिधा आदिवासी जनजातिलाई विकासविरोधी करार गर्ने सरकारी रवैयाको विरोध जनाएका छन् । उनीहरुले पहिचान र आत्मसम्मानको लागि आवश्यक परे उत्पीडित समूदायको मुक्तिको लागि पूर्ण संघर्षको लागि तयार रहेको पनि चूनौति दिएका छन् ।

आज (बिहीवार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियन्ताहरुले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान गर्न आफूहरु तयार रहेको स्पष्ट पारेका छन् । पाथीभरा लिम्बु,राई, गुरुङसमेत समूदायको मुन्धुम साथै तिका धार्मिक ग्रन्थमा वर्णित क्षेत्र र आस्थाको केन्द्र भएकोले सो क्षेत्रमा विकास आदि भौतिक संरचना निर्माण गर्दा मौलिक परम्परा, मूल्य र मान्यतालाई असर पर्नेगरि गरिन नहुने मत राखेका छन् ।

कार्यक्रममा सम्पूर्ण पहिचानवादी आन्दोलनका अध्यक्ष कृष्ण चोङबाङले आफूहरु विकासबिरोधी नरहेको भन्दै समस्या समाधानका लागि सरकारसँग खुला ढंगले वार्ता गर्न तयार रहेको स्पष्ट पारे । उनले आन्दोलनरत समूहहरुसँग सरकारले वार्ता नगरी पेल्ने काम गरिरहेको गुनासो गरे । उनले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि सरकारले बेवास्ता गरेको बताए ।

उनले भने,‘वार्ताको लागि अगाडि आन्दोलनमा त अलग अलग समूह पनि हुन्छन्, धेरै संघसंस्था मिलेर गरेको हो । त्यसमा अगाडि केही वार्ताहरु भएका छन् । तर सार्थक वार्ता हुन सकेन । त्यसले निकास दिन सकेन मलाई थाहा भएसम्म त्यहाँ पनि सरकारले वा सरकारी पक्षले पेल्ने काम मात्रै गरिराछ । तर यो चाहिँ के हो भने जनस्तरमा भइरहेका वास्तविक समस्या के हो त ? भनेर बुझ्नेसम्म वार्ता हुन सकेन । अब जनस्तरबाटै के गर्न सकिन्छ, समाधान कसरी गर्न सकिन्छ ? केवलकार निर्माण बन्द गर्नुमात्रै समाधान हो कि त ? या अरु हिसाबले गर्न सकिन्छ त ? भन्ने हिसावले छलफल नै नगरीकन आको हुनाले हामीले जनस्तरबाट वार्ता संवाद गर्नुप¥यो भने हामी तयार छौँ, गर्नुपनि पर्छ ।’

सरकारले वार्ता नगरी पेलेरै जाने हो भने आफूहरु प्रतिरोधमै उत्रिने उनको चेतावनी छ । उनले भने,‘हामी खुल्ला ढंगले संवाद पनि गर्नसक्छौँ, गर्नुपनि पर्छ । त्यसको पहल पनि गर्नुपर्छ । र यसको निकासका लागि कोही लागि पर्नुभएको छ भने ध्यानाकर्षण पनि होला । त्यसपछाडि संवाद मजाले हुन सक्ला भन्ने ध्ययले पनि गरिएको हो । हिजो जति भयो जसरी भयो अब वास्तवै समस्या समाधान गर्न थप संवाद र वार्ता गर्ने वातावरण बन्ला भन्ने हामीले अपेक्षा गरेका छौँ । आउनुस् वार्ता गरौँ पनि भन्नुभएको छैन, दुःख लाग्दो कुरो चाहीँ उहाँहरु पेलेरै जाने शुरमा देखिन्छ । उहाँहरुको जुन भुमिका छ यसको हामी विरोध गर्छौँ । तिमीहरुको समस्या के हो भनेर आन्दोलनमा हुने सबै संस्था समूहलाई बोलाएर समस्या पहिचान गर्न खोज्नु भयो भने समाधान त अवश्य छलफल र वार्ता संवादबाटै निस्कन्छ नि त ।’

लिम्बूवान ब्रदरहुडका अध्यक्ष तथा कमाण्डर मिक्तोक लिम्बूले पाथीभरा लिम्बुको अस्तित्व र पहिचानसँग जोडिएको धरोहर भएकाले केवलकार निर्माण गर्दा पहिचान नगुम्ने ग्यारेन्टी हुनुपर्ने बताए । उनले आफूहरुको माग सम्बोधनका लागि विगत ७ वर्षदेखि विभिन्न आन्दोलनमार्फत ध्यानाकर्षण गराएपनि सरकारले नसुनेको गुनासो पोखे ।

पहिचानका लागि युवाका केन्द्रिय संयोजक विराज आङदम्बे लिम्बूले स्थानीय पहिचानसँग जोडिएका सभ्यताको अस्तित्व रक्षाका लागि राज्यसँग लडाईं भइरहेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले दिएको अधिकार सदुपयोग गरी आफूहरु जनताको भावना जोडिएको संस्कृति रक्षाका लागि आन्दोलनरत रहेको स्पष्ट पारे ।

उनले भने,‘हाम्रो ऐतिहासिक अस्तित्वसँग जोडिएका हाम्रो सम्यताको लडाईंभित्र भइरहेको राज्य दमनप्रति त्यहाँभित्र रहेका रैथाने आदिवासीलगायत सरोकारवाला जनताहरुको भावनासँग जोडिएको आन्दोलनलाई राज्यसत्ताबाट धेरैचोटी बर्बरतापूर्वक दमन हुँदै आएको छ ।’ उनीहरुले स्थानीय पहिचान र अस्तित्व कायम गरी विकास निर्माण गर्नुपर्ने जनाएका छन् । कार्यक्रममा पहिचानको लागि युवाका सदस्य सचिव सहास राई र लाजेहाङ फोर्सका संयोजक धनेन्द्र लिम्बुलेपनि पहिचानको रक्षाको लागि आफूहरु संघर्षरत रहेको धारणा राखेका थिए ।