काठमाडौं, १३ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको कांग्रेस–एमाले गठबन्धन नटुटाउने भनेर ठीक कुरा गरेको बताएका छन् । उनले भने,‘उहाँले ठीक कुरा गर्नुभयो, फुटाउँदैमा हुने के ? बाहिर बसेर आएकाहरु देखेका छौं क्या रे ? कांग्रेसले त्यति भन्नुको साथसाथै भ्रष्टाचार गर्न दिनुहुँदैन । गणतन्त्रमाथि कालो बादल मडारिएको कारण उहाँहरुकै कारणले हो ।’
केसीले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तीनै जना नेता एउटै चरित्र भएको नेता भनेर टिप्पणी गरेका छन् । उनले अहिले तीन जनामध्ये एक जना ठीक भनेर आफूले नभन्ने बताए । तीनै जना नेताको एउटै चरित्र भएकोले आफूले एक जना नेता चयन नगर्ने केसीको भनाई छ ।
उनले नेताहरु राम्रो भएकोले देशको हालत यो अवस्थामा नहुने थियो भन्ने टिप्पणी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिलेका दलहरुको कुशासनको कारण जनतामा असन्तुष्टि पैदा भएको दाबी गरे । उनले नेपाललाई विदेशीको क्रिडास्थल बन्न दिन हुँदैन र गणतन्त्र चाहिन्छ भनेर आफूले वकालत गरेको स्मरण गराए ।
उनले आफू अहिले सरकार ढाल्ने पक्षमा नभएको स्पष्ट पारे । उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकोले आफूहरु राजतन्त्रको पक्षमा नभएको जिकिर गरे । उनले सत्तामा गएकाहरुले धन कमाउनेबाहेक अरु काम नगरेकोले जनता आक्रोशित बनेको बताए । उनले सरकार परिवर्तन गर्नुको कुनै औचित्य नभएको स्पष्ट पारे ।




प्रतिक्रिया