गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति


काठमाडौं, १४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म भन्ने अभिव्यक्ति दिने कांग्रेस महामन्त्री गगन थापालाई त्यो आरोप प्रमाणित गर्न चूनौति दिएका छन् । प्रधानमन्त्री ओलीले त्यस्तो अभिव्यक्ति दिएको भन्दै दिनेहरुप्रति दया लागेको टिप्पणी गरेका छन् ।

आज (आइतबार) मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले गगन थापाको नाम नलिईक भने,‘कोही यस्तरी धतुङ्गाएर बोल्छन्, प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच पुग्या छ। दया लाग्छ तिनका त्यस्ता शब्दहरू सुन्दा। के बोलेको त्यो? त्यस्ता कुराहरू प्रमाणित गर्न सक्छन्, तर बोलेका छन् ।’

केही समयअघि गगन थापाले गभर्नर नियुक्ती र एआईजी बढुवामा भैरहेको ढिलाईलाई लक्षित गरेर प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच रहेको टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीले भने केही समय लिएरमात्रै गगनको उक्त अभिव्यक्तिप्रति जवाफ फर्काएका हुन् । उनले विहानै सरकार ढल्न लाग्यो, बेलुका ढल्न लाग्यो भनेर बोल्नेहरु शेरबहादुर देउवा बैंककबाट फर्किएपछि चिसै पानीले नुहाउन बाध्य भएको भन्दै सरकार परिवर्तनको हल्लाको पछि नलाग्न स्पष्ट पारे ।

उनले एमाले ०८४ को निर्वाचनमा राष्ट्रिय निर्णायक शक्ति बन्ने भन्दै मिशन–८४ मा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले अहिले एमाले नेतृत्वलाई प्रहार गर्न केही तत्वहरु लागिपरेको पनि आरोप लगाए । तर, सरकारले कामबाट सबैलाई जवाफ दिने उनको विश्वास छ । उनले वर्तमान सरकारले केही पनि नराम्रो काम नगरेको दाबी गरे ।