काठमाडौं, १६ कार्तिक । साहित्यकार रेणुका भट्टराई नेपाली साहित्यको क्षेत्रमा परिचित नाम हो । पछिल्लो समय उनी मञ्जरी खण्डकाव्यका कारण चर्चामा छिन् । हुन त उनले २०५७ सालमा उक्त खण्डकाव्य लेखेकी थिईन् । अहिले बजारमा रहेको उनको मञ्जरी खण्डकाव्य तेस्रो संस्करण हो । प्रकाशन भएको दुई दशकभन्दा लामो समयपछि मञ्जरी चर्चामा आउनुको कारण मञ्जरी आफ्नै जीवनमा मेलखाएको उनी बताउँछिन् ।
साहित्यकार एवं पत्रकार विजयकुमार पोखरेल (बिके पाल्पाली) सँग बिबाह बन्धनमा बाँधिएकी भट्टराई मञ्जरी आफ्नै जीवनमा संयोग बनेको बताउँछिन् । दुवै मृगौला फेल भएका साहित्यकार एवं पत्रकार पाल्पालीको २०७८ फागुन १८ गते निधन भएको थियो । पाल्पाली नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पत्रकारितामा समेत सकृय थिए । आफूले २५ वर्ष पहिला कल्पना गरेर लेखेको सो कृति आफ्नै जीवनमा मेल खाएको उनले बताईन् ।
‘यो आजभन्दा २५ वर्षअघि लेखिएको कृति हो । हाम्रो समाजमा अझै पनि नारीहरुलाई सांस्कृतिक, सामाजिक हिसाबले गरिने व्यवहार र शोषित, पीडित नारीहरुलाई जागृत गराउनुपर्छ भन्ने सन्देश हो । यसमा २५ वर्षअघि एउटा विधवा महिला, उनी जब विधवा हुन्छिन्, त्यसपछि उनलाई बोक्सीको आरोप लगाईन्छ, लान्छना लगाईन्छ । अहिले पनि समाजमा यो अवस्था छ ।……मैले २५ वर्षअघि लेखेको कृति मेरो जीवनमा एउटा संयोग पनि बन्यो,’– उनी भन्छिन् ।
साथै, मञ्जरी झ्याउरे छन्दमा रहेको र आफू अहिले झ्याउरे कविता लेखन पुनर्जागरणको अभियानमा रहेको उनी बताउँछिन् । झ्याउरे छन्दलाई विश्वभर चिनाउन आवश्यक रहेको उनले बताईन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले झ्याउरे छन्दको श्रीवृद्धिमा मलजल गरेको स्मरण गराईन् । उनले झ्याउरे छन्दमा रहेको देवकोटाको मुनामदनलाई अहिलेसम्म उछिन्ने कुनै अर्को कृति नै सिर्जना हुन नसकेको उनले बताईन् । जापानमा रहेको साहित्य विधाको हाईकू विश्वभर फैलिएको बताउँदै साहित्यकार भट्टराईले नेपाली लोक छन्दलाई पनि विश्वभर पुर्याउने अभियानमा आफूहरु रहेको बताईन् ।