Logo

दीपकराज शर्माद्वारा लिखित पुस्तक ‘नेताहरुबाट सावधान !’ लोकार्पण



काठमाडौं, २३ कार्तिक । लेखक दीपकराज शर्माद्वारा लिखित पुस्तक ‘नेताहरुबाट सावधान ! (मनोवाद) लोकार्पण भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहबीच उक्त पुस्तक लोकार्पण गरिएको हो । पुस्तकको विमोचन राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी र अधिवक्ता स्वागत नेपालले गरेका थिए ।

पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै लेखक शर्माले संघीय संसद्मा निर्वाचित भएर आएका सांसदहरु सहकारी ठग, ज्यानमारा, भू–माफियालगायत रहेको बताए । उनले यी कुराहरु आफ्नो पुस्तकमा समावेश गरिएको बताए । पस्तकमा यो देशको राजनीति र राजनीतिज्ञको वास्तविक चरित्र चित्रण गरिएको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक डा.केसीले ‘नेताहरुबाट सवधान !’ पुस्तकले देशले सही नेतृत्व नपाएको कुरालाई चित्रण गरेको बताए । सही नेतृत्व खोज्ने प्रयासको रुपमा लेखकले उक्त पुस्तक लेखेको उनले बताए ।

‘नेता नै सबै समस्याका जड हुन् । नेताले नै मुलुकलाई अप्ठ्यारोमा पारे । नेता नसुध्रिकन हुँदैन । त्यसकारण सही नेतृत्व चाहियो । सही नेतृत्व खोज्ने प्रयासको रुपमा यो किताब आएको भन्ने मलाई लागेको छ ,’– उनले भने ।

त्यसैगरी, अधिवक्ता नेपालले नेताले आगामी निर्वाचनको बारेमा सोच्ने र राजनेताले भने आगामी पुस्ताको बारेमा सोच्ने बताए । अहिले राजनेताको अभाव रहेको बताउँदै उनले राजनेताले चुनाव जित्न आवश्यक नरहेको टिप्पणी गरे । उनले नेपालको इतिहासमा राजनेता रुपचन्द्र विष्ट रहेको उनले बताए ।

अधिवक्ता नेपालले संसदीय व्यवस्था अन्त्य गर्नपर्छ भन्ने नेता आजको आवश्यकक्ता रहेको बताए । त्यस्तै, स्वार्थ राखेर नीतिगत निर्णय गर्नेलाई कानुन बनाएर मृत्यु दण्ड दिनुपर्ने एजेण्डा अगाडि सार्ने व्यक्ति नै अबको नेता बन्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्