काठमाडौं, ३० कार्तिक । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा (सुवोध) ले अहिलेको सरकारले भू–राजनीतिमा आफूलाई सेफ साईडमा राख्नेगरि सक्रियता देखाएको आरोप लगाएका छन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न छटपट्टीका साथ वैदेशिक भ्रमणहरुको आयोजना गरिरहेको आरोप लगाएका छन् ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको “नेपाली बहस” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले प्रधानमन्त्री ओलीले भूराजनीतिमा आवद्ध हुने र आफ्नो सरकारमात्रै जोगाउनेगरि सोचेको हो भने त्यो राष्ट्रको लागि नोक्सानी हुने टिप्पणी गरे ।
उनले भने,‘अहिले विभिन्न विज्ञहरुको टिप्पणी सुन्दा र झट्ट हेर्दा यो सरकारले द्धिपक्षीय हितको रक्षाको लागि भन्दापनि के गर्दा सरकार सुरक्षित हुन्छ भनेर जिओपोलिटिक्सको आड लिन खोजेको देखिन्छ । त्यसैले जिओपोलिटिक्सको लागि मात्रै यो सक्रियता हो भने यसमा हामीले त खबरदारी गर्नुपर्छ ।’ उनले केपी ओली नै अघिल्लोपटक प्रधानमन्त्री भएको बेला चीनसँग गरिएका सम्झौता कति कार्यान्वयन भए त ? भनेर प्रश्न सोधे । file photo