काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता केशब बडालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको विषयलाई आलोचना गरेका छन् । उनले रास्वपाका नेता तथा कार्यकर्ताहरुको हर्कतको कारण विश्वभरि छरिएर बसेका नेपालीहरु पनि छक्क परेको टिप्पणी गरे ।
हिजो (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगका कुराकानीमा नेता बडालले यस्तो बताएका हुन् । उनले रास्वपाका नेताहरु राजनीति बुझ्ने सवालमा अहिलेपनि क, ख, ग कै विन्दुमा रहेको दाबी गरे । रास्वपाका नेताहरुले न्याय निरुपण गर्ने कुरामा बाधा पुर्याउने प्रयत्न गरेको पनि बडालको आरोप छ ।
उनले भने,‘यसले उहाँहरु विधिसम्मत् रुपमा अघि बढ्ने कुरामा पुग्नुभएको रहेनछ । र, विधिविपरित क्रियाकलाप गरेर आनन्द लिने बाटोमा हुनुहुन्छ ।’ उनले रवि लामिछाने गृहमन्त्री भएको बेलामा जिबी राईलाई सुरक्षित राख्ने काम गरेको पनि आरोप लगाए । नत्र गृहमन्त्रीको जिम्मेवारीमा भएको व्यक्तिले जिबी राई फलानो देशको फलानो ठाउँमा छ भनेर किन बोलेको भन्दै उनले प्रश्न उठाए ।