Logo

‘अहिले त जहाँ गयो त्यहीँ प्रधानमन्त्रीको विरुद्ध नारा लाग्छ’ : माओवादी नेता पौडेल



काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले आफूहरु अहिले सरकार ढाल्ने षड्यन्त्रमा नलागेको स्पष्ट पारेका छन् । यद्धपी वर्तमान सरकारले जनताको पक्षमा काम नगरी देशलाई बर्वादीको बाटोमा लैजाने काम गर्यो भने मिल्नसक्ने शक्तिहरुसँग मिलेर अघि बढ्ने भन्दै सरकार ढाल्नेसम्मको संकेत गरे ।

उनले सरकार गणितले मात्रै चल्न नसक्ने भन्दै जनताको पक्षमा काम गर्न सरकारलाई सुझाव दिए । उनले कांग्रेस–एमालेको सहकार्य ०८४ को निर्वाचनसम्म नै जान्छ भनेर दाबी गर्ने कांग्रेस र एमालेका नेताहरुलाई शुभकामना दिए । उनले भने,‘उहाँहरुलाई यसमा शुभकामना छ । हामीले यो सरकारको विकल्प खोजेर पनि हिँडेका छैनौं । काम जनताको पक्षमा गर्नुपर्यो । जनताको पक्षमा काम गर्न सक्नुभएन, यो गणितले मात्रै सरकार टिक्दैन् ।’

वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनसम्बन्धी कुरामा पहल लिन नसकेको उनको आरोप छ । उनले भने,‘अहिले त जहाँ गयो त्यहीँ प्रधानमन्त्रीको विरुद्ध नारा लाग्छ, यो के भएको हो भन्ने कुरा दलहरुलाई, अरुलाई आलोचना गर्नुभन्दा आँफैतिर फर्किएर आफ्नो अनुहार, आफ्नो काम र शैली ऐनामा हेरेर समिक्षा गर्दा राम्रो हुन्छ ।’

आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले नेपालका सरकारी संस्थाहरुमध्ये आशालाग्दो र काम गर्ने संस्था नै नेपाल विद्युत प्राधिकरण भएकोले त्यसमा अहिलेको सरकारले आँखा लगाईरहेको दाबी गरे ।

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरुलाई क्षतविच्छेद गरेको आरोप लगाए । तर, ०८४ को निर्वाचनसम्म देशभरिका कम्युनिष्टहरुबीच सहकार्य हुनसक्ने अवस्था आउनेपनि उनको धारणा छ । उनले आफ्नो दल आगामी निर्वाचनमा एक्लै निर्वाचनको मैदानमा होमिने सुनाए ।



प्रतिक्रिया दिनुहोस्