काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाई हुँदैछ ।
सो निवेदन सर्वोच्चका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशी परेको छ । यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो । प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रबार उनका छोरा निराजन प्रसाईले सर्वोच्चमा निवेदन दिएका थिए ।
साइबर अपराधसम्बन्धी कसूरमा उनलाई प्रहरीले गत मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए ।
प्रसाईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएकोमा फेरि ५ दिनको म्याद थपिएको छ । प्रसाईविरुद्ध यसअघि पनि साइबर अपराधमा मुद्दा दर्ता भएको थियो । उनी १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । उक्त मुद्दा हालपनि विचाराधीन छ ।