काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणमा सम्मान नभएको टिप्पणी गरेकी छिन् । हिजो (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्-“उहाँहरुले ठूलो सम्मान पाउनुभएको जस्तो लाग्दैन् । मैले सम्मान पाईनँ, म असफल भएँ भनेर कसैले भन्छ ? चिनियाँराष्ट्रपति सि जिनपिङको बडि ल्यांग्वेज हेर्नु न ?” उनले चीन र भारत दुवै देशबाट रेल आउने दाबी गरिन् । उनले बीआरआईकै कारणले प्रधानमन्त्री ओली नेतृत्वको सरकार नढल्ने पनि दाबी गरिन् ।
उनले अहिले कांग्रेस र एमालेको गठबन्धनप्रति जनता कोही पनि खुशी नभएको प्रतिक्रिया दिईन् । उनले जनतस्तरबाटै यो गठबन्धनप्रति एकदमै ठूलो असन्तुष्टि रहेको सुनाईन् । तर, बीआरआईको कुरामा भने कांग्रेस र एमालेबीच मतभिन्नता नभएको उनको स्पष्टोक्ति छ ।