काठमाडौं, २७ मंसिर । कुटनीतिज्ञ एवं पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा रहने र प्रधानमन्त्री बन्ने दिन गनेर बसेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुई ठूला दलको सरकार हुँदा पनि देश, जनता र परराष्ट्र सम्बन्धका बारेमा काम हुन नसकेको बताएका हुन् । ‘गफ गरेर, कोठामा बसेर दिन गन्ती गरेर मेरो प्रधानमन्त्रीमा रहने यतिदिन बाँकी छ, त्यसपछि म प्रधानमन्त्री हुनलाई अब यतिदिन बाँकी छ भनेर यो राष्ट्रको समस्या कसरी समाधान हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।
कांग्रेस–एमालेसहितको गठबन्धन सरकार बन्ने क्रममा संविधान संशोधन, सुशासन र राजनीतिक स्थायित्वको वाचा गरेको भएपनि कुनै काम हुन नसकेको उनको भनाइ छ । पूर्व परराष्ट्रमन्त्री पाण्डेले जन्मिएका दिनदेखि एकअर्काको प्रतिस्पर्धी रहेका कांग्रेस–एमालेको विचित्रको र बलियो सरकार हुँदा पनि ध्यान भने सरकार जोगाउनेमा मात्रै रहेको बताए । कांग्रेस देउवाको र एमाले ओलीको पूर्ण अधिनमा रहेको बताउँदै उनले ती दलका कुनै पनि नेताले वर्तमान सरकारको नराम्रो कार्यविरुद्ध बोल्ने हैसियत नराख्ने उनको भनाइ छ ।
साथै, नेपालको परराष्ट्र नीतिमा इतिहासको निरन्तरता र भूगोलको संरक्षणलाई प्रमुख बनाइनुपर्ने उनको सुझाव छ । उनले परराष्ट्र नीतिमा शतर्क भएर लाग्नुपर्ने, आग्रह वा पूर्वाग्रहबाट सञ्चालित हुन नहुने, विवेकशील हुनुपर्ने बताए । भारत र चीनसँगको सम्बन्धलाई नेपालले प्रथम प्राथमिकतामा राख्नुपर्ने उनको सु्झाव छ । नेपालले भारत र चीनको वास्तविक इन्ट्रेस्ट बुझ्न सक्नुपर्ने उनले बताए । ‘हामीले दुवै छिमेकीलाई विश्वास दिलाउनुपर्छ । दुर्भाग्यवस आज त्यो अवस्था छैन । नभएको हुनाले दुईवटै छिमेकीहरु आफ्नो वास्तविक इन्ट्रेस्ट प्रोटेक्ट गर्नलाई सम्भावित शक्तिको खोजीमा लागेका छन् । त्यो चिन्ताको कुरा हो,’– पाण्डेले भने ।
जसको सरकार बनेपनि, जुन व्यवस्था भएपनि त्यसको परराष्ट्र नीति र चिन्तनमा राष्ट्र पहिलो हुनुपर्ने उनले बताए ।