काठमाडौं, ३ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले आन्तरिक कारणले अहिलेको सरकार नढल्ने दाबी गरेका छन् । प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘आन्तरिक रूपमा यो गठबन्धनमा मैले कहीँ समस्या देखिराखेको छैन् । तर, गठबन्धनले गर्ने काम त गर्नुपर्यो । हामीले गठबन्धनको लागि मात्रै गठबन्धन बनाएको होईन । यो गठबन्धन त देशको लागि काम गर्नको लागि बनेको हो ।’
उनले आफूले अहिलेसम्म नेपाली कांग्रेसको संसदीय दलको नेता परिवर्तन गर्ने कुनैपनि रूप नदेखेको स्पष्ट पारे । उनले भने,‘संसदीय दलको नेता परिवर्तनको सम्भावना मैले देखेको छैन् । अब एउटा कुरा प्रष्ट के हो भने हाम्रो सभापतिजीपनि प्रष्ट हुनुहुन्छ । शेरबहादुर देउवाले अर्को कुनै नेताको संसदीय दलमा बहुमत भयो भनेपनि त्यो बहुमत राखेर म चाहीँ नेता हुन्न भनेर उहाँले कल्पना गर्नुहुन्न क्या । शेरबहादुर देउवाले राजनीति गर्नुभएको ६० वर्ष भयो । २०४८ सालदेखि त उहाँ निरन्तर संसदीय चुनाव जित्नुभएको छ ।’
उनले शेखर कोइरालालाई पनि आफूसँग संसदीय दलमा बहुमत छ भन्ने नलागेको टिप्पणी गरे । उनले अघि भने,‘आजको दिनमा संसदीय दलको नेता शेरबहादुर देउवा हुनुहुन्छ । दलमा उहाँको बहुमत छ । संसदीय दलमा कुनै नेता परिवर्तन हुने छनकपनि देख्दिनँ । यो बेकारको अध्याँरोमा तीर हानेजस्तो काम हुँदैन क्या ।’