काठमाडौं, ६ पुष । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले अहिलेको कांग्रेस–एमाले गठबन्धन व्यक्ति व्यक्तिको स्वार्थमा बनेको बताएका छन् । उनले भने,‘यो गठबन्धन कुनै राष्ट्रिय हित वा सिद्धान्त, वा दर्शनमा आधारित नभएर व्यक्ति व्यक्तिका स्वार्थहरुमा आधारित भएको हुनाले जुन दिन यो स्वार्थ टकराउँछ, त्यही दिन यो सरकार र गठबन्धन ढल्छ ।’
हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । उनले नेपालको राष्ट्रिय राजनीति नै यतिवेला अत्यन्तै संकटपूर्ण दिशामा घचेटिएको बताए । उनले नेपाल भ्रष्टाचार जटिल विषय बनेको टिप्पणी गरे ।