काठमाडौं, ८ पु्स । जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरीका सदाबुद्दिन हलवाई पक्राउ परेका छन् । उनले नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै दुई करोडभन्दा बढी रकम ठगी गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पीडितको उजुरीको आधारमा हलवाईलाई नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो । हलवाई उपर जिल्ला अदालत बाँकेबाट चार दिन म्याद थप अनुमति लिइएको र प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।