Logo

तमू पत्रकारिता पुरस्कार-२०८१ बाट ६ जना पत्रकार पुरस्कृत



काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले २०७० सालदेखि प्रदान गर्दै आएको तमू पत्रकारिता पुरस्कारबाट यो वर्ष पनि छ जना पत्रकारहरु पुरस्कृत भएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

पूर्व प्रधानसेनापति छत्रमानसिंह-कमला गुरूङ पत्रकारिता पुरस्कारबाट देवराज गुरूङ (गुरुङतर्फ) सम्मानीत भएका छन् । सम्मानीत हुने पत्रकार गुरुङ करिब ९ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । २०७२ सालमा अखबार दैनिक अनलाइन पत्रिकामा आवद्ध भई पत्रकारितामा प्रवेश गरेका उनी गतिशील खबर अनलाइन हुँदै २०७४ सालदेखि हालसम्म चितवनबाट सञ्चालित इच्छाकामना न्युज डटकम डिजिटल अनलाइन पत्रिकाको सम्पादकको रूपमा कार्यरत छन् ।

यसबाहेक कान्तिपुर, अन्नपूर्ण, नागरिक, नयाँ पत्रिका, गोरखापत्रजस्ता राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुको लागि लेखसमेत लेख्दै आएको संघले जनाएको छ । योारको राशी २० हजार १ रहेको छ ।

पूर्व प्रधानसेनापति छत्रमानसिंह-कमला गुरूङ पत्रकारिता पुरस्कार गैर गुरुङतर्फबाट वर्षा शाह सम्मानीत भएकी छन् । यो पुरस्कारको राशी पनि २० हजार १ नै रहेको छ । दाङ निवासी फोटो पत्रकार शाह विगत एक दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील छिन् । २०६९ सालमा दाङको घोराहीमा रहेको झरना एफएममा प्राविधिक एवम् कार्यक्रम प्रस्तोताको रूपमा सञ्चारकर्ममा प्रवेश गरेकी उनी स्टार एफएम, करेन्ट नेपाल न्युज हुँदै २०७४ सालदेखि हालसम्म देश सञ्चार डटकममा फोटो पत्रकारको रूपमा कार्यरत छिन् ।

सुश्री भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट अपेक्षा गुरूङ पुरस्कृत भएकी छन् । उनी कान्तिपुर मिडिया ग्रुपको दि काठमाण्डु पोष्टमा सम्वाददाताको रूपमा कार्यरत छिन् । यो पुरस्कारको राशी १० हजार १ रहेको छ ।

तमू ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कार निरू गुरूङलाई प्रदान गरिएको छ । गुरूङ विगत एक दशकदेखि पत्रकारितामा क्रियाशील छिन् । २०७१ सालदेखि जिल्लाको रेडियो समावेशीबाट सञ्चारकर्ममा प्रवेश गरेकी उनी लुम्बिनी टेलिभिजन हुँदै हाल राज्य टेलिभिजनमा समाचार वाचक तथा कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत छिन् । यो पुरस्कारको राशी १२ हजार १ रहेको छ ।

आदिकवि हर्कबहादुर गुरूङ स्मृति पत्रकारिता पुरस्कार शीला गुरूङलाई प्रदान गरिएको छ । १० हजार १ राशीको पुरस्कारबाट पुरस्कृत हुने उनी विगत २४ वर्षदेखि पत्रकारितामा क्रियाशील छिन् । २०५७ सालदेखि रेडियो नेपालको गण्डकी प्रदेश प्रादेशिक प्रसारण केन्द्रमा कार्यरत उनी तमू भाषाको समाचार वाचक छिन् भने समाचार सम्पादक, वाचक तथा कार्यक्रम उत्पादकको रुपमा समेत कार्यरत छिन् ।

लक्ष्मी गुरूङ पत्रकारिता पुरस्कार गणेश गुरूङले पाएका छन् । १० हजार १ राशीको उक्त पुरस्कार म्याग्दी अन्नपूर्ण गाउँपालिका ५ शिखा निवासी फोटो पत्रकार गुरूङले पाएका छन् । विशेषत फोटोग्राफीमा रुचि राख्ने उनी विगत ७ वर्षदेखि पुनहिल मिडियाद्वारा सञ्चालित अनलाइन धौलागिरी खबरमा फोटो पत्रकारको रुपमा कार्यरत छन् ।

तमू गुरुङ सञ्चारकर्मी संघ, नेपालले पूर्वकोषाध्यक्ष अनिता गुरुङको अध्यक्षतामा हुमबहादुर गुरुङ, भिम गुरुङ, आश गुरुङ र सीता गुरुङ रहेको पाँच सदस्यीय समितिले २०८१ मङ्सीर २९ शनिबार बसेको बैठकले गरेको सिफारिसलाई कार्यसमितिले अनुमोदन गरी पुरस्कार दिने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्