काठमाडौं, १० पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्यायले कांग्रेस–एमालेको सत्ता सहकार्यपछि नेपाल र भारतबीचको सम्बन्धमा समस्या नै समस्या देखापरेको टिप्पणी गरेका छन् । आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘अहिले त समस्या नै समस्यामा हामी अल्झिएका छौं । अहिले सबभन्दा मूल नेपालीहरुलाई बिझाएको विषय सिमाको विवाद हो । सिमाको विवाद भनेको कालापानीको क्षेत्र भन्नाले लिपुलेक, लिम्पियाधुरासम्मको क्षेत्र विवादको क्षेत्र भनेको छ । नेपाल र भारत दुवैको प्रोटोकलमा यो क्षेत्र र सुस्ताको क्षेत्र विवादित क्षेत्र हो, यसलाई हामी माथिल्लोस्तरबाट समाधान गर्ने भनेको छ । यो अत्यन्तै महत्वपूर्ण कुरा हो । हामीले यसमा निरन्तर ध्यान पुर्याउन सकेनौं । सरकारले बेवास्ता गर्दाखेरि विस्तारै भारतले लिपुलेक भनेको त भारत र चीनको सिमा विन्दु नै होईन, त्यो त नेपाल र चीनको सिमा विन्दु हो, त्यहाँसम्म भारत पुग्नै सक्दैन् । त्यहीबेला एकचोटी सुशिल कोइरालाको समयमा भारत र चीनले एउटा संयुक्त वक्तव्य निकालेपछि उहाँले एउटा प्रोटेष्ट नोटहरुपनि पठायौं । भारत र चीन सरकारलाई पनि अझैपनि प्रष्ट पार्न सकेका छैनौं । हामीले कुटनीतिक परिपक्वता, चातुर्यता र गाम्भीर्यता यहाँ प्रयोग हुनुपर्ने हो । हामीले त सप्रमाण राखेर भारत र चीनलाई पनि कुरा बुझाउनुपर्छ । जहाँसम्म मानरोवर यात्राको लागि त्यो बाटोको प्रयोग गरेर भारतले जबरजस्ती किसिमले, अहिले त यस्तो भैसक्यो त्यो हाम्रो कालापानी क्षेत्र, विवादित क्षेत्र अब त नेपालको कहिल्यै, कुनै बेलामा कुनै हक थिएन भनेजस्तो किसिमबाट उसले एकलौटी प्रयोग गर्न थाल्यो । चुच्चे नक्शाका कुरा आए, झन झन यसले जटिलतातर्फ जाँदैछ । यसले न भारतको हित हुने, न नेपालको हित हुने, कुटनीतिक परिपक्वताको हिसाबले न चीनको पनि हित हुने । यो राम्रो नदेखिने देखियो ।’
उनले भारतसँगको सिमा विवादको सवालमा नेपालपनि रियाक्टिभ बनेको बताए । उनले भने,‘हामीपनि खाली अब एकदमै रियाक्टिभ भएर चुच्चे नक्शा बनाउने, नक्शा बनाएर नोटमा छापेपछि अब त हाम्रै हो भनेर त्यसमै मख्ख हुने । तर, प्रयोगमा त केही छैन् ।’ उनले कुटनीतिमा आरोह–अवरोह र उतारचढाव आइरहने उल्लेख गर्दै भारतसँग नेपालको अतुलनीय सम्बन्ध रहेको स्पष्ट पारे ।