Logo

सुगरको उपचार गर्न पुगेका नक्कली डाक्टरले लुटे सुनचाँदी र ३ लाख



काठमाडौं । सुगरको उपचार गर्छु भन्दै औषधि खुवाएर बेहोस बनाउँदै लुटपाट गर्ने कार्यमा संलग्न एक नक्कली डाक्टरलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफूलाई डाक्टर आलोक भनेर चिनाउने जितेन्द्र मण्डल रहेका छन् ।

महोत्तरी घर भएका मण्डलले सामाजिक सञ्जालमा साथी बनाएर चिनजान गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।

नक्कली डाक्टर बनेर पुगेका मण्डलले कोठा भित्र रहेका सुन तथा चाँदीका गरगहनाहरु सिक्री, औठी, झुम्का,टप, मंगलसुत्र लगायत र नगद तीन लाखसमेत चोरी गरेको पाईएको प्रहरीले जनाएको छ ।

नक्कली डाक्टर बनेर आएका व्यक्तिले लुटेको भन्दै उजुर िपरेपछि छानबिन गर्दा मण्डल नुवाकोट पुगेको पत्ता लागेको प्रहरीले जनाएको छ । उनलाई नुवाकोटबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले मण्डलबाट एप्पल कम्पनीको मोबाइल, भिभो कम्पनीको मोबाइल, सामसङ कम्पनीका मोबाइल र नगद ५९ हजार ३६० रुपैयाँ बरामद गरेको छ ।

 जितेन्द्रलाई अहिले चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरी वृत सातदोबाटो पठाएको छ । 



प्रतिक्रिया दिनुहोस्