काठमाडौं । माता छोरीनानी जोशी र पिता प्रभुभक्त जोशीको कोखबाट २०२४ कार्तिक २ गते काठमाडौंमा जन्मिएका साहित्यकार विक्रमभक्त जोशी नेपाली साहित्यमा परिचित अनुहार हुन् ।
बीई (सिभिल), एमबीए, पीजीडीआईटी, एमए (अङ्ग्रेजी) सम्म अध्ययन गरेका जोशी बोसनको सेराफेरोः यथार्थको अनुभूति नामक निकथा प्रकाशित गरेर नेपाली साहित्यमा प्रवेश गरेका थिए । जोशीका हालसम्म चोभार ब्लुज (निकथासङ्ग्रह), बेखामान र राक्षस (बाल चित्रकथा) प्रकाशित भइसकेका छन् भने एउटा निकथासङ्ग्रह प्रकाशनोन्मुख रहेको छ । उनै जोशीसँग रिपोर्टर्स नेपालले गरेको कुराकानीको सम्पादित अंश:
यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो ?
मेरो साहित्यप्रतिको झुकाव बाल्यकालदेखि नैं रहेतापनि लेखन कार्य भने ढिलो सुरु गरियो । मैले मेरो पहिलो रचना २०७५ आश्विनमा रचेको हुँ– जसको प्रकाशन त्यसको लगत्तै भयो । अतः मेरो साहित्यिक यात्राको औपचारिक थालनी विन्दु त्यही मितिलाई मान्न सकिन्छ । यस अर्थमा साहित्यिक यात्राको जग निक्कै अघि बसेको भएता पनि घर बन्न सुरु गरेको पाँच–छ वर्ष भयो भन्नुपर्ला ।
कसबाट र कसरी प्रभावित हुनुभयो ?
पिता स्वयम् साहित्य अनुरागी भएका नाताले बच्चैदेखि उहाँका पठन अनि लेखन देख्दै हुर्केँ । हुन त उहाँले साहित्यमा सोचेजस्तो सफलता हासिल गर्न पाउनुभएन । हुन सक्छ उहाँका दमित इच्छा ममा जागृत भएको पो हो कि ? त्यसमाथि सानैदेखि बुझिने जुनसुकै भाषाका पुस्तक पढ्ने बानी बस्यो । त्यसबखत अङ्ग्रेजी लेखिका एनिड ब्लाइटनबाट म अत्यन्त प्रभावित भएको थिएँ ।
कसरी बढिरहेको छ त लेखन गतिविधि ?
मेरो साहित्यिक यात्राले छिचोलेको दूरी उति लामो छैन । मुश्किलले पाँच–छ वर्ष ! तर यही पाँच–छ वर्षमा नैं पनि मैले यात्रालाई यथेष्ट द्रुतता दिन सकेँ । बामे सर्दै गर्दाको अवस्थामा पनि दुईवटा कृति प्रकाशन गरिसकेँ । पहिलो ‘चोभार ब्लुज’ निकथासङ्ग्रह र दोश्रो ‘बेखामान र राक्षस’ बाल चित्रकथा । एक वर्षको अन्तरालमा प्रौढ र बाल दुवै प्रकारका साहित्यमा हात हाल्ने मौका पाएँ । यसो हेर्दा लेखन गतिविधि सन्तोषजनक रुपमा अघि बढ्दैछ ।
त्यसो भए तपाईं आफ्नो लेखनप्रति सन्तुष्ट हुनुहुन्छ, हैन त ?
हो, एकदम सन्तुष्ट छु । पहिलो कृति ‘चोभार ब्लुज’ले धेरै पाठक र समालोचकको ध्यान आकृष्ट गर्न सफल भएको जस्तो लाग्छ । मेरो लेखनशैलीलाई मन पराइएको हो शायद । भनिहालूँ, यस पुस्तकले ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०७९’ को उत्कृष्ट तीनमा प्रवेश पाएको थियो भने नारी स्रष्टा समाजद्वारा २०७९ को वर्षपुस्तक घोषित भएको थियो । यसका साथै सो पुस्तक ‘श्रीरामगीता वाङ्मय मन्दिर नेपाल–अमेरिका’द्वारा स्थापित ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार–२०७९’ को उत्कृष्ट दशमा पर्न सफल भएको थियो । यी सफलता यस पुस्तकमा मैले प्रयोगमा ल्याएको ‘निकथा’ विधाको सफलता पो हो कि जस्तो पनि लाग्छ ।
लेखनकै कारणले त भनुँ, छोटा समयमा नैं नेपाली साहित्यिक क्षेत्रमा योगदान पु¥याएबापत बैंककमा ‘एशिया–नेपाल इन्टरनेशनल नोबल लिटरेचर अवार्ड–२०२४’, संयुक्त अरब इमिरेट्सको दुबईमा ‘एनएल अन्तर्राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान–२०२४’, अमेरिकास्थित ‘हामी नेपाली ग्लोबल’द्वारा सम्मानपत्र लगायत अन्य थुप्रै सम्मान तथा कदरपत्रबाट सम्मानित हुने अवसर पाएँ । अर्कोतर्फ मेरो बालपुस्तक ‘बेखामान र राक्षस’ ले पनि राम्रो प्रशंसा बटुलिरहेको छ । यी यावत् भनेको एक नवस्रष्टाका लागि ठूलो सन्तुष्टिको विषय हो ।
तपाईंले ‘निकथा’ भनेर बारम्बार उल्लेख गर्नुभयो । के हो ‘निकथा’ भनेको ?
भनेँ नि, यो मेरो प्रयोग हो । कथामा न्यारेटरको डाइनामिक्स मिसिँदा नौलो स्वाद दिन सकिन्छ भन्ने मेरो धारणाअनुसार निकथा बन्न पुग्यो । निकथालाई संरचनाका आधारमा व्याख्या गर्ने हो भने यो नियात्रा, निबन्ध र कथाको सम्मिश्रण हो । अनि विषयवस्तुका आधारमा भन्ने हो भने यो तथ्य, कथ्य र सन्देशको घुलन हो अर्थात् फ्याक्ट, फिक्सन र मेसेजको फ्युजन । यसमा यात्राका क्रममा देखिएका तथ्यपरक वर्णन, काल्पनिक कथन र सन्देशमूलक अभिव्यक्ति रहने भए । कथावाचनको यो शैलीले पाठकलाई कथाको संसारमा अझ सशक्त ढङ्गले विचरण गराउन सकिन्छ भन्ने मेरो विश्वास हो ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
निकथालाई स्थापित तुल्याउने सिलसिलामा एउटा अर्को निकथासङ्ग्रहको जरुरत देखेको छु । त्यसैमा लागेको छु ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
देशको संस्कृति, पहिचान र इतिहासलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले साहित्य र स्रष्टाहरूप्रति राष्ट्रको महत्त्वपूर्ण दायित्व रहन्छ । आलोचनात्मक सोच, समानुभूति, सृजनशीलता र सामाजिक न्यायको प्रवद्र्धन गर्न साहित्य सशक्त औजार हुन सक्छ– जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । साहित्य र स्रष्टाहरूप्रति राष्ट्रको जिम्मेवारी भनेको समाज निर्माणमा उनीहरूको मूल्य र महत्त्व बुझेर उनीहरूलाई फस्टाउन आवश्यक श्रोत र सहयोग उपलब्ध गराउनु हो । तर बिडम्बना नैं भनूँ, यहाँ राज्यले साहित्यलाई ग्राह्यताका आधारमा निक्कै कम महत्त्व दिएको छ जस्तो मलाई लाग्दछ ।
तपाईंको साहित्यिक आदर्श के हो ?
म एकै ढाँचाका भन्दा पनि प्रयोगवादी लेखनमा विश्वास गर्छु । त्यसैले मेरा रचना विभिन्न स्वादका हुन्छन् । कतै स्वैरकल्पना, कतै म्याजिक रियालिज्म त कतै सरियलिज्म वा यथार्थवादी सामाजिक चित्रण वा पर्यावरणीय चिन्तन । यस अर्थमा मेरा साहित्यिक आदर्शमा विविधता भेटिन्छ । म रस्किन बोन्डमा पनि रमाउँछु, आरके नारायणमा पनि । रमेश विकलमा पनि, अनि रामकुमार पाण्डेमा पनि । कहिले मार्खेजमा हराउँछु त कहिले मुराकामीमा ।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
लेखकको दायित्व भनेको निष्पक्ष लेखनका मद्दतले समाजमा सकारात्मक सोचको प्रवाह गर्नु हो । भन्नुको तात्पर्य लेखकमा कुनै गुट वा समूहको रङ कदापि लाग्नु हुन्न । तर आजकल साहित्यमा कतै÷कतै रङ चढेको देख्छु । आफ्नो सिद्धान्त प्रस्तुत गर्न पाइन्छ, तर प्रभाव पार्ने हेतुले हुँदैन । यस्तोमा यदाकदा निक्लिने ‘पोलिटिकली इन्करेक्ट’ साहित्यले साहित्यको बजार दूषित बनाएको देख्छु । यस्तोमा सबै लेखकले आफ्नो लेखकीय दायित्व वहन गरेको छ भनेर भन्न सकिने अवस्था छैन ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
हिजो डिजिटल प्रविधि थिएन । आज छ । यसले साहित्य लेखनलाई सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ । पठन–प्रवृत्ति घट्दै जानुमा डिजिटल युगलाई दोष दिइन्छ । तर यसैका कारण साहित्यका लेखहरू निमेषभरमा संसारभर फैलिन मद्दत पु¥याउँछ । हिजोका दिन मनबाट प्रस्फुटन भएका अर्ग्यानिक साहित्य पढ्न पाइन्थ्यो भने आज आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का मद्दतले लेखिएका ‘आर्टिफिसियल’ साहित्यले बजार भरिएला भन्ने डर छ ।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
त्यस्तो साहित्य लेखिनुपर्छ– जसले पाठकलाई सकारात्मक ऊर्जा देओस् । यो त शाश्वत सत्य हो । तर मलाई के लाग्छ भने त्यस्तो साहित्य लेख्नुपर्छ जसले प्रथमतः लेखक स्वयंलाई सकारात्मक प्रभाव पारेको हुनुपर्छ । अरूलाई भन्दा आफूलाई खुसी तुल्याउने साहित्यले अन्ततोगत्वा पाठकलाई प्रभाव पोरेरै छाड्छ । यो मेरो विश्वास हो ।
लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?
तपाईं कस्तो वातावरणमा हुर्किनुभयो र कस्तो वातावरणमा रहनुहुन्छ– त्यसले लेखनमा गहिरो प्रभाव पार्छ । प्रेरणा पनि तिनैबाट प्राप्त गर्ने हो । घरमा लेखनमा लागेका व्यक्ति छन्, पढ्न लेख्न प्रेरित गर्ने छन् भने लेख्ने हुटहुटी स्वतः जाग्छ । अर्को कुरा, जीवनमा घटेका तीतामीठा घटनाले पनि लेखनमा प्रेरित गर्छ ।
तपाईंको लेख्ने निश्चित समय छ कि ?
छैन । म आफ्नो ‘मुड’अनुसार लेख्ने गर्छु । कहिले बिहानै लेख्छु । कहिले शुद्ध राति । मुड चलेन भने महिनौंसम्म लेख्नै सक्दिनँ, न बिहान न राति ।
लेख्न कस्तो वातावरण चाहिन्छ ?
मेरो सन्दर्भमा ज्यादातर हिँड्दै गर्दा नै कथाको प्लट तयार हुने गर्दछ । बाटामा भेट्ने पात्र र स्थानलाई समेट्दै लैजान्छु । रियल पात्र नभेट्दा सरियल पात्र पनि खडा गर्छु । यो अर्थमा आधा लेखन त म प्राकृतिक वातावरणमै गरिसकेको हुन्छु, दिमागको कापीमा । घर आएर तिनलाई मोबाइलमा टाइप गरेर लिपिबद्धसम्म गर्ने हो । सङ्गीत सुन्दै आधा रातसम्म खाटमै ढल्केर कथामा रूपान्तरण गर्दै जान्छु । तर सुनसान क्षण नैं चाहिन्छ भन्ने पनि छैन । ‘मुड’अनुसार जतिखेर जहाँ पनि लेख्छु ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
म विषयवस्तु छान्ने गर्दिनँ । कतिखेर मनमा केले छुन्छ, थाहै हुन्न । हिँड्दै जाँदा जे देख्छु र जेले छुन्छ– त्यसकै बारे लेख्छु । एकपटक एउटा फरक क्षमताका बालक सकिनसकी हिँड्दै गरेको भेटेँ, उनकै बारे लेखेँ । अर्कोपटक वस्तुभाउलाई आफ्नो सन्तानसरि माया गर्ने एकल बृद्ध महिला भेटेँ, उनकै बारे लेखेँ । असारे झरीले इन्तु न चिन्तु परेका नदीकिनारमा बस्ने सुकुम्बासीलाई देखेँ, तिनका बारे लेखेँ ।
सफल स्रष्टाका आवश्यक गुण के÷के हुन् ?
मेरो विचारमा एउटा सफल स्रष्टा हुनलाई आवश्यक पर्ने गुणहरू हुन्ः बलियो लेखन कौशल, रचनात्मकता र कल्पना, जिज्ञासा र अवलोकन, निरन्तर अध्ययन र अनुसन्धान, लेखनलाई थप सम्पादन र संशोधन गर्ने जाँगर, भाषा र व्याकरणमा राम्रो पकड ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
आख्यानमा रम्दै रम्दै हुर्केँ । मेरो रुचि आख्यान विधामा भएर हो कि मलाई त यही विधाका पाठक बढी छन् जस्तो लाग्छ । तर काव्यका पाठक पनि कम छैनन् । सबै विधामा आ÷आफ्नै प्रकारको रस छ अनि आ÷आफ्नै प्रकारका पाठक छन् ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
यो भनेको कुन प्रकारको सृजना हो, त्यसमा भर पर्ने कुरो हो । गैर आख्यानमा काल्पनिकताको स्थान गौण हुन्छ भने काव्य र आख्यानमा यो हुनु जरुरी छ । सजीवता त जुनसुकै सृजनामा हुनु जरुरी हुन्छ । नीरस र निर्जीव सृजना रसविहीन उखुको छोक्रा जस्तो न हो । निकथाको कुरा गर्ने हो भने स्थान अनि घटनाको सजीव चित्रण गर्दै कल्पनामा चोपलिएका सृजना पढुँपढुँ लाग्ने बन्छ भन्ने मेरो अनुभव छ ।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
जुनबेला कुनै घटना÷परिघटनाले गहिरो प्रभाव पार्छ अथवा कुनै दृश्यले मनलाई नराम्ररी हल्लाउँछ, तब अक्षरका रूपमा भुल्कासरि पोखिन हतारिन्छ । यस्तो अवस्थामा मध्यरातमै पनि उठेर मोबाइलको नोटप्याडमा टिप्ने गर्छु । एउटा रमाइलो कुरा नि, एकपटक एउटा सपनामा देखेको कुराले यस्तरी प्रभाव पा¥यो कि ब्युँझिनासाथ त्यसलाई टिपेर राखेँ । जसलाई मैले पछि मेरो एउटा निकथामा प्रयोग गरेको छु ।
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
अरूलाई हैन– आफूलाई खुसी पार्न लेख्नुपर्छ । जसले अरूको लागि लेख्छ– ती मनदेखि निक्लेका हुँदैनन् । फलतः ती मन छुने खालका र प्रभावकारी हुँदैनन् । अर्को कुरा, लेखनमा लाग्नलाई अरूका पुस्तक खुब पढ्ने गर्नुपर्छ । यसले लेखनलाई चाहिने युक्ति प्रशस्त प्राप्त हुन्छ भने शब्द, शैली, भाषा, व्याकरणादि ज्ञानवृद्धिमा ठूलो मद्दत पु¥याउँछ ।
(प्रस्तुती: जयराम सापकोटा)