काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले चीनसँगको सिमा विवादबारे आफूहरुले उठाएको विषयमा आधा समस्या समाधान भएको र आधा बाँकी रहेको बताएका छन् । अहिले कायम रहेको बाँकी सिमा विवादको समस्यापनि दुई देशबीच वार्ता तथा छलफल भएर समाधान हुने उनको विश्वास छ ।
हिजो (शनिबार) प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन् ” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘आधा समस्या समाधान भयो त । अब आधा छ, त्यो पनि समाधान हुन्छ । ६ नम्बर पिल्लरको तारबार उठाईयो । ५ नम्बर पिल्लरको पनि उठाईयो । ९ र २ नम्बरको पिल्लरमा अझैपनि बार लगाएको छ । अहिले गृहमन्त्रालयले प्रतिनिधि पठाएर चीनसँग कुरा भैरहेको छ । अस्तिपनि हाम्रो पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली त्यहाँ पुग्नुभयो । उत्तरका बोर्डरहरुमा पनि जोईन्ट भेन्चरको इन्सपेक्शन नभएको १६ वर्ष भयो । अब बोर्डरको विषयमा जाने र छलफल हुने भन्ने कुरा त आईसकेछ त ।’
उनले भारत र चीन दुवैसँग नेपालको सिमा विवाद रहेको दाबी गरे । चीनसँग सिमा विवाद छैन भन्नेलाई आफूले ठाउँमा लगेर देखाईदिने उनको घोषणा छ ।