काठमाडौं, १३ चैत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले गत सोमबार तीन दलका शीर्ष नेताहरुको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनेबारे कुनै छलफल नभएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले सो मिटिङमा छलफल त परको कुरा कुनै त्यसबारेमा कुनै संकेतसमेत नगरिएको बताएका हुन् ।
तीन दलका शीर्ष नेताहरुको छलफलमा आफू पनि सहभागी रहेको बताउँदै नेता बस्नेतले भने, ‘म त्यही मिटिङमा छु ऋषिजी तपाईलाई वितम्रतापूर्वक भन्छु । त्यो विषयमा छलफलको त कुरा छोड्नुस्, संकेत पनि प्राप्त भएको थिएन । हिजोको छलफल केवल शान्ति प्रक्रियाका बाँकी काम कसरी टुङ्ग्याउने भन्ने विषयमा केन्द्रीत थियो । दुईवटा आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने भन्ने एजेण्डामा मात्रै हिजोको छलफल सिमित थियो ।’
माओवादी केन्द्रले टीआरसीसँग सम्बन्धित आयोगमा आफ्ना मान्छे पदाधिकारी बनाएर पठाउने शर्तमा कुलमानलाई हटाने ग्रिन सिग्नल दिएको गाइँगुइँ चलिरहेको छ । तर, उक्त बैठकमा पदाधिकारी कसलाई बनाउने भन्ने विषय र कुनै राजनीतिक नियुक्तबारे छलफल नै नभएको उनले बताए । आयोगको नेतृत्व माओवादीले गर्ने भन्ने भ्रम छरिएको विषय पनि गलत रहेको उनले बताए । ‘त्यहाँ शान्ति प्रक्रियाको काम अगाडि बढाउने सिफारिस समिति बनाउने कुरामा मात्रै केन्द्रीत छ । अहिले पदाधिकारीको बारेमा पनि छलफल भएन । राजनीतिक विषयमा त्यहाँ र पनि उच्चारण भएन,’– उनले भने ।
प्रतिक्रिया