काठमाडौं, १३ चैत । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले ठूलो परिणाममा सुनको गहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ घर भई हाल काठमाडौं–१४ कलङ्की बस्ने दिपेशलाल चित्रकार रहेका छन् । स्वयम्भूको आनन्दकुटीस्थित सुनका गरगहनाहरू बिक्री गर्न लिएर हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले चित्रकारालई पक्राउ गरेको हो ।
उनीबाट पोतेसहितको सुनजस्तो देखिने धातु जडित नौगेडी माला ११ थान, पोतेसहितको सुनजस्तो देखिने धातु जडित सिङगल गेडी माला ७ थान, क्रिष्टलसहितको सुनजस्तो देखिने माला–१३ थान, पोतेसहितको सुनजस्तो देखिने धातु जडित मंगलसुत्र ६ थान, पोतेसहितको सुनजस्तो देखिने धातु जडित सोली गेडी माला १ थान, पत्थरसहितको सुनको जस्तो देखिने धातु जडित टप ३ जोर, पोते नभएको सुनको जस्तो देखिने धातु जडित तिलहरी १ थान, सुनको जस्तो देखिने धातु जडित विभिन्न डिजाईनका क्लिप ९ थान, मोतीजस्तो देखिने पत्थरसहितको सुनको जस्तो देखिने धातु जडित ३ गेडी मोती माला ३ थान, मोतीजस्तो देखिने मालासहितको सुनको जस्तो देखिने धातु जडित मोती लकेट माला १ थान बरामद भएको छ ।
त्यस्तै, मोतीजस्तो देखिने पत्थरसहितको सुनजस्तो देखिने धातु जडित मोतीहार १ थान, सुनको जस्तो देखिने धातु जडित औंठी २४ थान, पत्थरसहितको सुनजस्तो देखिने धातुबाट बनेको स-साना फुली–१९ थान, सुनको जस्तो देखिने धातु जडित स–साना गेडी ३ थान पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेका चित्रकारलाई बरामद गरिएका दसीसहित थप अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया