Logo

पञ्चेश्वर परियोजनासहितका सम्झौता/समझदारीको कार्यान्वयनले गति लिने विश्वास



काठमाडौँ, २८ चैत । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले भारतीय राजदूत मञ्जीवसिंह पुरीको कार्यकालमा नेपाल र भारतबीच सम्झौता भएका पञ्चेश्वर बहुद्देश्यीय परियोजनासहित विभिन्न सहयोग सम्झौता/समझदारीको कार्यान्वयनले गति लिने विश्वास व्यक्त गर्नुभएको छ ।

आज साँझ नेपाल निवासमा भएको शिष्टाचार भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत सम्बन्ध, पछिल्लो राजनीतिक अवस्थासहित विविध विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री नेपालका प्रेस सहयोगी मोहन गौतमले जानकारी दिनुभयो ।

सो अवसरमा राजदूत पुरीले सन् १९९४ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रुपमा पूर्वप्रधानमन्त्री नेपालले भारत भ्रमण गर्दा उहाँसँग भएको भेटको स्मरण गर्दै नेपालमा लोकतन्त्रको विकास एवम् नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउन उहाँले खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो । राजदूत पुरीले सबैका भावना समेटेर स्थानीय तहको निर्वाचनसहित संविधान कार्यान्वयन गर्न नेकपा (एमाले) र नेपालका राजनीतिक दल सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले नेपाल र भारतका बीच भएका सम्झौता एवम् सहमतिको कार्यान्वयन गराउँदै दुई देशको सम्बन्धलाई थप बलियो बनाउन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । तस्विर :मोहन गौतमको फेसबुकबाट 



प्रतिक्रिया दिनुहोस्