काठमाडौँ, १४ वैशाख । कवि विधान आचार्यको तेस्रो कृति कविता सङ्ग्रह ‘नदीसित’ बुधबार एक समारोहबीच सर्वनाम नाट्यगृह कालिकास्थानमा लोकार्पण गरियो ।
कवि स्वयम्ले डालोको रातो रुमाल खोलेर ‘नदीसित’ कविता सङ्ग्रह सर्वप्रथम प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेलाई प्राज्ञिक क्षेत्रका प्रतिनिधिका रूपमा अर्पण गर्नुभयो ।
अतिथिहरू समालोचक डा नेत्र एटम, साहित्यकार तथा नाट्यजगत्का अगुवा अशेष मल्ल, साहित्यकार काशीराज आचार्य र सभापतित्व गरिरहेका नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकलाई एकएकप्रति अर्पित गर्दै नयाँ ढङ्गमा कृतिको लोकार्पण गरिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिने क्रममा ‘कविताहरू पुराना भएपनि कालजयी भएकाले सामयिक नै लाग्छ र थोरै लेखेर राम्रो स्थान बनाउन विधानजी सफल हुनुहुन्छ’ भन्दै कविको जन्मदिनमा कृतिको पनि लोकार्पण भएकाले अभैm नयाँ नयाँ रचना उहाँबाट भइरहोस् भन्ने शुभकामना दिनुभयो ।
कृतिका बारेमा आफ्नो भनाइ राख्दै समालोचक एटमले कवि विधान आचार्यको कवितामा पाइने बाहिरी रूप र भित्री सारको चर्चा गर्ने क्रममा बाहिरको बिम्बविधान र भित्रको द्वन्द्वमिलान उनको कविताको विशेषता रहेको चर्चा गर्नुभयो ।
साहित्यकार काशीराज आचार्यले कवि विधानको कवितामा भावको विचित्र सम्प्रेषण पाइन्छ भन्दै जुन प्रणय कवितामा रहेको भावातिरेकलाई प्रशंसा गर्नुभयो ।
कवि तथा नाट्यकार अशेष मल्लले ‘विधानको कवित्वको प्रसङ्गमा उठाउँदा उहाँका समकालीन साथी स्व जीवन आचार्यको सम्झना भइरहेको बताउँदै विधान आचार्यको बहुमुखी प्रतिभाको चर्चा गर्नुभयो । कवि विधान आचार्यले कार्यक्रममा तीनवटा कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व साहित्यकार आलोकले र सञ्चालन नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कणेल ‘हरित’ ले गर्नुभएको थियो । रासस