काठमाडौँ ३१ वैशाख । चीनको राजधानी बेइजिङमा जारी ‘एक क्षेत्र एक मार्ग’ अन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग मञ्चको उच्चस्तरीय छलफलमा मन्त्रिपरिषद्का तीन जना सदस्य सहभागी हुनुभएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की उक्त छलफलमा आज सहभागी हुनुभएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।
छलफलका क्रममा उपप्रधानमन्त्री महराले चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो ।
त्यसअवसरमा उहाँहरुबीच नेपाल–चीन यातायात तथा पारवहनसम्बन्धी सम्झौताका बाँकी कार्यलाई यथाशक्य चाँडो अन्तिमरुप दिनेबारेमा छलफल भएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय सरकारले चीनको स्वशासित क्षेत्र तिब्बत, गान्सु, कुङहाइ, सिचुवान र युनानका सरकारलाई चिनियाँहरुलाई नेपालको भ्रमणमा उत्प्रेरित गर्न तथा ती प्रान्तका सहर र नेपालका सहरबीच भगिनी सम्बन्ध स्थापित गर्दै दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई सुदृढ तुल्याउन निर्देशन दिएको जानकारी उपप्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षीलाई दिनुभएको थियो ।
नेपाल सरकारले आफ्नो भूमिमा रेलमार्ग निर्माण गर्न चीन सरकारसमक्ष गरेको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै तातोपानी नाका प्राथमिकताका साथ पुनः सञ्चालन गर्नेसम्बन्धी अनुरोधलाई सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्ने वचन दिएको उक्त दूतावासले जनाएको छ ।
‘एक क्षेत्र एक मार्ग’ सम्मेलनमा नेपालबाट भएको उच्चस्तरीय सहभागिताको लागि चीनले हार्दिक आभार व्यक्त गरेको छ । रासस