काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको पहिलो चरणको निर्वाचनका मतपरिणामहरु सार्वजनिक भैरहेको बेलामा प्रमुख दल कांग्रेसले एमालेलाई टक्कर दिईरहेको देख्दा आफूलाई आश्चर्य लागेको बताएका छन् ।
उनले जनताले कांग्रेस पार्टीलाई अझै मत दिइरहेको देख्दा आफूलाई अचम्म लागेको बताए्। बुधबार बल्खुमा २४ औं मदन जीवराज आश्रित स्मति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले कांग्रेसले गर्नुजति नराम्रो काम गरेको आरोप समेत लगाए । उनले भने,‘तर चुनावी परिणाममा एमालेसँग टक्करमा आइरहेको छ। यो कुरा मैले बुझ्न सकेका छैन।’
उनले एमालेलाई भोट दिनु नपर्ने र अरु पार्टीलाई भोट दिनु पर्ने कुनै कारण नै नभएको बताए। ’हामीले एमालेले गरेका काम जनतासम्म पुरयाउन सकेका छैनौं जनतालाई अझै भ्रममा राखिएको छ’, उनले भने।
एमालेमाथि पहिलेदेखि नै षडयन्त्र र आक्रमण हुँदै आएको उल्लेख गर्दै अध्यक्ष ओलीले मदन भण्डारीको हत्यामा पनि षडयन्त्र रहेको बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो पार्टी जता हावा चल्छ त्यतै लाग्ने पार्टी नभएको जिकीर गर्दै देशको हितमा जे उपयुक्त हुन्छ त्यही दिशामा लाग्ने बताए।
मदन–आश्रितको २४ औं स्मृति दिवसका दिन मदननगर बल्खुमा अध्यक्ष केपी ओलीको मन्तब्यको संक्षेप:
एमाले विचारमा संगठित पार्टी हो, स्वार्थमा संगठित होइन । एमाले ब्यापकतामा संगठित पार्टी हो सकिर्णतामा संगठित होइन । महान कुरो भनेको विचारमा संगठित पार्टी वास्तविक संगठित हो । हामीले देश बनाउने हो, त्यसैभित्र हामी रहने हो । तर कस्तो हल्ला चलाइएको छ भने अरु पार्टीका नेताहरुको विचारको सहीपना, व्यवहार र आचारणको शुद्धपना केही छैन, उनीहरुको प्रतिरक्षा गर्ने ठाउँ नै छैन । अनि त्यसलाई डाइलुट कसरी गर्ने भन्दा सबै उस्तै हुन् भन्ने । उनीहरु सर्वोच्च अदालतका प्रधानन्यायाधीश बिरुद्ध महाभियोग लगाउँछन् ? अनि त्यसको औचित्य पुष्टि गर्न लोकमान सिंह कार्कीलाई पनि लगाएकै हो नि भन्छन् । सबैलाई एकै ठाउँमा राखेर गोलमाल गर्ने । सबै उस्तै हुन् भन्ने गर्छन् । अरु पार्टी र एमाले पनि उस्तै हुन् भन्ने जस्ता भ्रम छर्ने काम भएका छन् ।
एमालेको नीति सही छ, व्यवहार सही छ । एमालेसँग आर्थिक भिजन छैन भन्ने हल्ला चलाउने गरेका छन् । अरुका विचार छैनन्, विकासका दृष्टिकोण छैनन्, अनि एमालेलाई पनि त्यसमा हालेर हल्ला गर्ने गर्छन् । म विकामा, समृद्धिमा सबैसँग वहस गर्न तयार छु । एमालेका नेता सबैसँग बहस गर्न तयार छन् । गफाडी तालले होइन । रोजगारी सिर्जना गर्ने, कृषिलाई आधुनिकिरण गर्नेमा हामी बहस गर्न तयार छौं । अन्यत्र कम्युनिस्ट रक्षात्मक अवस्थामा होलान्, यहाँ एमाले छ, यो विजयी यात्रामा छ । एमाले यो देश बनाउने संकल्पमा छ । एमाले चुनौतीसँग डराउदैन । किनकि योसँग जबज छ । जवज आन्दोलनको जगमा बनेको हो, आन्दोलनको विश्लेषणको संंश्लेषण नै जबज हो । त्यसकारण हामी सफल हुन्छौं ।