Logo

ओलीलाई कमल थापाको प्रश्न : तालमेललाई किन असफल पार्नुभयो ?



काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिच्किएका छन् ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा तालमेल अनुसार एमालेले आफ्नो पार्टीका उम्मेद्धवारलाई मत नहालेको प्रष्ट देखिएपछि राप्रपा अध्यक्ष थापा एमाले अध्यक्ष ओलीसँग कड्किएका हुन् । स्रोतका अनुसार अध्यक्ष थापाले आजमात्रै ओलीसँग फोनमा आफ्नो तिव्र असन्तुष्टि पोखेका हुन् ।

हुन त यसपटक मतदाताले गठबन्धन गर्ने दलहरुलाई खासै रुचाएको पाईएको छैन । सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रवीच भएको तालमेलको परिणामा झनै असन्तोषजनक रहेको स्वयम तालमेल गरेका दलका शीर्ष नेताहरुले टिप्पणी गरेका छन् । भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकामा कांग्रेस–माओवादी तालमेलको नतिजा खराब आएपछि यसको बारेमा चौतर्फी टिकाटिप्पणी भएको हो ।

काठमाडौंमा त विवेकशील र साझा पार्टीले गठबन्धन नै नगरिकन राप्रपाको भन्दा राम्रो पोजिसन बनाएका छन् । काठमाडौंमा जस्तै ललितपुरमा राप्रपा–एमाले गठबन्धनलाई हेर्दा उत्साहजनक परिणाम देखिँदैन । मेयर र उपमेयरको मत परिणाम हेर्दा चारवटै महानगरपालिकामा दलहरु गठबन्धनप्रति इमान्दार देखिएनन् ।

यही विषयलाई लिएर राप्रपा अध्यक्ष थापा आजको फोनवार्तामा ओलीसँग कडा रुपमा प्रस्तुत भएका थिए । उनले ओलीलाई चुनावी तालमेलमा ठूलो धोका भएको भन्दै यसको परिणाम राम्रो नहुनेतर्फ ध्यानाकार्षण गराएका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘चुनावी तालमेलमा एमालेले हामीलाई धोका दियो नि ? के गर्न खोज्नुभएको हो ?’



प्रतिक्रिया दिनुहोस्