Logo

नयाँ मेयरको पहिलो निर्णय– बृद्धभत्ता थप ५ सय



काठमाडौं ११ जेठ । महालक्ष्मी नगरपालिकाका नवनिर्वाचित मेयर रामेश्वर श्रेष्ठले राज्यले दिने वृद्धभत्तामा नगरभित्र थप दिने निर्णय गरेका छन् । पदभार ग्रहणलगत्तै मंगलबार मेयर श्रेष्ठले सरकारले दिने चौमासिक ८ हजार रुपैयाँमा थप ५ सय रुपैयाँ दिने निर्णयमा हस्ताक्षर गरे । सामाजिक सुरक्षा भत्ताले वृद्धबृद्धामा आत्मबल बढेको बताउँदै उनले नगरले त्यसमा सानो रकम थपेर आफ्नो उत्तरदायित्व पूरा गरेको बताए ।

श्रेष्ठले निर्वाचनका लागि तयार पारेको प्रतिबद्धता पत्रमा वृद्धभत्ता नगरपालिकाको स्रोतबाट थप गर्ने उल्लेख गरेका थिए ।

नवनिर्वाचित मेयर श्रेष्ठले नगरपालिकाको योजनाबद्ध विकासका लागि विज्ञसमेत रहने गरी निर्देशक समिति गठन गर्ने निर्णय गरेका छन् । नगर विकास गुरुयोजना तर्जुमा कार्यान्वयन गर्न निर्देशक समिति गठन गर्ने निर्णय भएको उनले बताए ।

पदभार ग्रहणअघि नगरपालिकाले गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले आफू विजयी भएको दिनदेखि नै आफू साझा भएको बताउँदै राजनीतिक आस्था र विचारबाट निर्देशित भएर काम नगर्ने प्रतिबद्धता जनाए ।

नवनिर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्यहरुले बुधबार नै शपथ लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्