Logo

यादव र गच्छदारसँग ठाकुरको प्रस्ताव : चुनाव चिन्ह दिलाउनुस्, निर्वाचनमा जान्छौं



काठमाडौं ११, जेठ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार रहेको बताएका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरम पार्टीका अध्यक्ष विजय गच्छदारसँगको छलफलमा राजपा अध्यक्ष ठाकुरले चुनाव चिन्ह नभएकोले निर्वाचनमा जान नसकिने बाध्यता स्पष्ट पारेका छन् ।

स्रोतका अनुसार राजपा नेपालका अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ता र चुनाव चिन्ह दिलाइदिन यादव र गच्छदारलाई प्रस्ताव गरेका छन् । ‘हामी चुनाव विरोधी होइनौं, तर आयोगमा न पार्टी दर्ता छ, न हामीले चुनाव चिन्ह पाएका छौ, अनि चुनावमा कसरी जाने रु’ त्रिपक्षीय छलफलमा ठाकुरले भनेको स्रोतले जनाएको छ । जवाफमा यादव र गच्छदारले राजपालाई चुनाव चिन्ह दिलाउन सक्दो पहल गर्ने आश्वासन दिएका छन् ।

फोरम नेपालका अध्यक्ष यादव, लोकतान्त्रिक पार्टीका अध्यक्ष गच्छदार र राजपा अध्यक्ष ठाकुरबीच ठाकुर निवास सानोठिमी भक्तपुरमा बिहिबार दिउँसो चुनावमा तालमेलको विषयमा बृह्त छलफल भएको थियो ।

६ वटा मधेश केन्द्रीत दल मिलेर हालै बनेको राजपा नेपाल निर्वाचन आयोगमा दर्ता छैन । चुनाव चिन्ह पनि राजपाले पाएको छैन । पार्टी एकीकरण गर्नु अघि राजपाका ६ वटै दलले पुरानो चुनाव चिन्ह, लोगो र झन्डा प्रयोग नगर्ने निर्णय गरेका थिए ।

छलफलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावमा साझा उम्मेदबारी दिनको लागि सहकार्य गर्न ठाकुर र गच्छदारसँग प्रस्ताव गरेका छन् । मधेशी जनताको चाहना र भावना अनुसार स्थानीय चुनावमा सहकार्य आवश्यक रहेको यादवको तर्क थियो ।

स्थानीय तहको दोस्रो तहको चुनावमा सहकार्य गरी साझा उम्मेदबार खडा गर्ने यादवको प्रस्तावलाई गच्छदारले सकारात्मक रुपमा लिएर मिलेर अघि बढ्न सकिने बताएका छन् । यद्यपि, त्रिपक्षीय छलफलमा कुनै सहमति जुट्न सकेन । ठाकुरले आन्दोलनको प्रसङ्ग निकाल्दा यादव र गच्छदारले मधेशको उपलब्धिलाई संस्थागत गर्न आन्दोलनकै रुपमा स्थानीय तहको चुनावलाई सदुपयोग गर्न सुझाव दिएका थिए



प्रतिक्रिया दिनुहोस्